बेइजिङमा भएको चीनसँगको पारवहन प्रोटोकल वार्तामा यस्ताे प्रगति, तेस्रो बैठक काठमाडौंमा हुने

बेइजिङमा भएको चीनसँगको पारवहन प्रोटोकल वार्तामा यस्ताे प्रगति, तेस्रो बैठक काठमाडौंमा हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– चीनसँगको व्यापार तथा पारवहन सम्झौताको कार्यविधि (प्रोटोकल) लाई अन्तिम रूप दिन नेपाल सरकारद्वारा गठित टोलीले बुधबार चिनियाँ प्रतिनिधिमण्डलसँग बेइजिङमा वार्ता गरेको छ।

उद्योग, वाणिज्य तथा आपूूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे र चिनियाँ यातायात उपमन्त्री लिउ स्याउमिङ नेतृत्वको टोलीबीचको वार्तामा यातायात तथा पारवहन प्रोटोकललाई छिट्टै अन्तिम रूप दिने विषयमा गहन छलफल भएको चीनस्थित नेपाली दुतावासले जनाएको छ।

बेइजिङमा बसेको दोस्रो परामर्श बैठकले अब तेस्रो परामर्श बैठक चाँडै नै काठमाडौंमा गर्न सहमति गरेको छ। नेपाली टोलीले त्यान्जिन बन्दरगाहको अवलोकन भ्रमण समेत गरेको छ।

यसअघि असार पहिलो साता प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको प्रोटोकलमा हस्ताक्षर हुने भनिएपनि अन्तिम समयमा आएर टरेको थियो। त्यसपछि वाणिज्य मन्त्रालयका सचिव घिमिरेको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरिएको थियो। टोलीमा परराष्ट्र, अर्थ, कानुन, भौतिक पुनर्निर्माण तथा यातायात मन्त्रालयका अधिकारीहरू छन् ।

नेपालले चिनियाँ पक्षसँग तेस्रो मुलुकसँगको व्यापार गर्न चीनको भूभागबाट पारवहन सुविधा उपलब्ध गराउन अनुरोध गर्दै ६ वटा बन्दरगाहा प्रदान गर्न माग गरेको छ।

वाणिज्य मन्त्रालयका अनुसार चीनले आवश्यकता हेरेर अनुमति दिने योभन्दा अघि भएको मस्यौदा आदान प्रदानमा जनाएको थियो। चीन तेन्जिङ, क्वाङ्चाउ र सांघाइमा बन्दरगाहा उपयोग गर्न दिन सकारात्मक रहेपनि थप बन्दरगाहका विषयमा छलफल भइरहेको हो।