२०५ औं भानुजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै

२०५ औं भानुजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै


काठमाडौं- आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्ती शुक्रबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । भानु जयन्तीको अवसरमा काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

भाषिक सहजतासहितका भानुभक्तका कृतिले नेपाली समाजमा पठनपाठन र संस्कृतिको विकास गर्न तथा सांस्कृतिक, धार्मिक, सामाजिक एवम् नैतिक चेतनाको विकास गर्न र्पुयाएको योगदानका कारण भानुभक्तलाई नेपाली समाजले सामाजिक अगुवाका रूपमा लिने गरेका छन् ।

१८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा जन्मिएका आचार्यले ‘अध्यात्म रामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको बिजारोपण गरेका थिए। उनका    प्रश्नोत्तर(१९१०), भक्तमाला(१९१०), वधूशिक्षा(१९१९), रामगीता(१९२५) तथा दर्जनौँ फुटकर लगायत साहित्यिक कृति पनि प्रकाशित छन्।

आचार्यले लेखेका पाण्डुलिपिलाई सङ्ग्रहित गरी कवि तथा गजलकार मोतीराम भट्टले पुस्तकाकारमा प्रकाशन गरेर नेपाली जगतमा उनलाई चिनाएका हुन्। नेपाली समाजमा एकैपल्ट भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, पितृप्रेम, भ्रातृत्व, दाम्पत्य,    कर्तव्यलगायत विषयलाई समन्वय गरेका आचार्य मूर्धन्य व्यक्तित्व भएको साहित्यकारहरु बताउँछन्।

भानु प्रतिष्ठानका अध्यक्ष डा. व्रतराज आचार्यका अनुसार काठमाडौंमा हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत आमन्त्रण गरिएको छ।