काठमाण्डु- भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने बताएकी छिन्। मेयर दाहालले धुर्मुस–सुन्तली फाउण्डेशनले दिएको आर्थिक र प्राविधिक प्रतिवेदनको सरकारी पक्षबाट मूल्यांकन गरिसकेपछि रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिने बताएकी हुन्।
धुर्मुस–सुन्तली फाउण्डेशनले आफूलाई १७ करोड ऋण लागिसकेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट पनि सोचेअनुरुपको सहयोग प्राप्त नभएकोले महानगरलाई स्वामित्व लिन आग्रह गरेको थियो । धुर्मुस–सुन्तली फाउण्डेशनको उक्त आग्रह पछि महानगरले रंगशालाको लागि काम अघि बढाउने उनले बताइन् । मेयर दाहालले सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने भन्दै रंगशाला बनाउँदा लागेको ऋण र बहुवर्षीय योजनाअनुसार काम अघि बढाउन संघीय सरकारलाई आग्रह गर्ने बताइन्।
‘हामीले प्रक्रिया अघि बढाइसकेका छौं। हुनत हाम्रो सम्झौताअनुसार महानगरपालिकाले जग्गा उपलब्ध गराउने, त्यो खालको वातावरण निर्माण गरिदिने र श्रोत जुटाएर निर्माण सम्पन्न गर्ने, दायित्व धुर्मस सुन्तली फाउण्डेशनको हो’, उनले भनिन्, ‘महानगरले जग्गा उपलब्ध गराउने र वातावरण निर्माण गरिदिने भन्ने हो, त्यसका बाबजुद पनि महानगरले श्रोत जुटाउन आर्थिक सहयोग पनि जुटायौं। राम्रो सहयोग जुटेको हो। ’
प्रतिक्रिया