काठमाण्डु – राष्ट्रिय महिला फुटबल टोली तथा एपिएफकी फरवार्ड खेलाडी सावित्रा भण्डारी मंगलबार स्वदेश फर्कन लागेकी छन् । ८ महिना भन्दा लामो समयको उपचारपछि उनी भोलि नेपाल फर्कन लागेकी हुन् ।
उपचारका लागि उनी असार १२ गते कतार गएकी थिइन् । सावित्राको असार ३१ गते कतारको दोहामा रहेको अस्पेटार अस्पतालमा दायाँ घुँडाको शल्यक्रिया गरिएको थियो ।
एन्फाको पहलमा कतार फुटबल संघले उनको उपचार गराइदिएको हो । आइतबार भएको परिक्षणमा सबै कुरा सामान्य देखिएपछि नेपाल फर्कन लागेको सावित्राले बताइन् । राष्ट्रिय लिग खेल्ने क्रममा गत वर्ष फागुन ३ गते उनको घुँडामा चोट लागेको थियो ।
झन्डै ८ वर्षे खेल जीवनमा सावित्राले पहिलो पटक गम्भिर खालको चोटबाट गुज्रनु परेको थियो । कतार फुटबल संघले नेपाली खेलाडीहरुलाई समय समयमा उपचारमा सहयोग गर्दै आएको छ ।
प्रतिक्रिया