वानेश्वरमा प्रदर्शनकारीले ३ मन्त्रीका गाडी फुटाए

वानेश्वरमा प्रदर्शनकारीले ३ मन्त्रीका गाडी फुटाए


काठमाडौं– राजधानीको नयाँ वानेश्वरमा कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले गरेको प्रदर्शनका क्रममा प्रदेश नम्बर २, ३ र ४ का तीन मन्त्रीको गाडीमाथि तोडफोड भएको छ ।

प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालको बा २ झ३७६३ नम्बरको गाडी र प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री नवल किशोर शाह को बा १ झ ७२३४ नम्बरको गाडीमा तोडफोड गरेका हुन् ।

यस्तै ४ नम्बर प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनको ग१झ२७६ नम्बरको गाडीमा पनि क्षति पुगेको छ ।उनीहरुको गाडीको अगाडिको भागको सिसा फुटेको छ ।

सातवटै प्रदेशका सामाजिक विकासमन्त्रीको बैठकमा सहभागि हुन आएका उनीहरु राजधानीको इन्द्रेणी फुडल्याण्डमा सो गाडी रोकेर बसेकोमा माइतीघरतर्फबाट नयाँ वानेश्वरतर्फ अघि बढेका तरुण दलका कार्यकर्ताले ढुंगा प्रहार गरेका थिए ।

तरुण दलका कार्यकर्ताले प्रहार गरेको ढुंगा लागेर इन्द्रेणी फुडल्याण्डकै बा११च १२६६ नम्बरको गाडीमा पनि क्षति पुगेको छ । तरुण दलका कार्यकर्ता तोडफोडमा उत्रिएपछि प्रहरीले ५ राउण्ड अश्रुग्यास र लाठीचार्ज गरेको थियो ।