भीएलएन ठगी प्रकरणः सहसचिव कृष्णहरि पुष्करको संरक्षण भेटियो

भीएलएन ठगी प्रकरणः सहसचिव कृष्णहरि पुष्करको संरक्षण भेटियो


काठमाडौँ -मलेसिया जाने नेपाली कामदारमाथि गैरकानुनी रूपमा शुल्क उठाएको आरोप खेपेको मलेसिया भीएलएन प्रालिलाई वैदेशिक रोजगार विभागकै तत्कालीन महानिर्देशक कृष्णहरि पुष्करले संरक्षण गरेको भेटिएको छ ।

तत्कालीन महानिर्देशक पुस्करले भीएलएनले कामदारमाथि ठगी गरेको नदेखिएको भन्दै उजुरी तामेलीमा राख्ने निर्णय गरेका हुन् । उनले त्यतिबेलै सबै फाइल श्रम मन्त्रालयमा फिर्ता पठाउन आदेशसमेत दिएका थिए ।

सरकारको अनुमतिबिना कुनै पनि कम्पनीले वैदेशिक रोजगारीमा जाने कामदारसँग रकम उठाउन पाउँदैन । अर्कोतर्फ सरकारको निर्णयअनुसार नेपाली कामदारका लागि फ्रि भिसा, फ्रि टिकेटको व्यवस्था छ । यो व्यवस्था उल्लंघन गरेको आरोपमा भीएलएन सञ्चालकमाथि ठगी मुद्दा चलेको हो ।

दूतावासको दायराबाहिर सञ्चालित कम्पनीले सोझै मलेसियाली सरकारसँग सम्झौतासमेत गरेको छैन । वैदेशिक रोजगार ऐनमा पनि कामदारमाथि अनधिकृत रूपमा रकम उठाउन नपाइने उल्लेख छ ।

वैदेशिक रोजगार विभागमा मलेसिया भीएलएनविरुद्ध परेको उजुरी छानबिन क्रममा तत्कालीन महानिर्देशक पुस्करले एउटा ‘निर्णय पर्चा’ नै खडा गरेको कान्तिपुरलाई प्राप्त कागजातमा देखिन्छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।