काठमाण्डु – आजदेखि दूधको मूल्य बढेको छ । गत १७ गते बसेको मन्त्रिपरिषद बैठकले दूधको मूल्य बढाउने गरेको निर्णय दुग्ध विकास संस्थान (डीडीसी)ले आजदेखि कार्यान्वयनमा ल्याएको हो ।
डीडीसीले प्रतिलिटर दूधको मूल्य नौ रुपैयाँ बढाएको जानकारी दिएको छ । यसअघि दूधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ रहेकोमा आजदेखि बढेको मूल्य लागू भएर प्रतिलिटर ८५ रुपैयाँ भएको छ । डीडीसीको बुधबार बसेको सञ्चालक समितिको बैठकले दूधको मूल्य प्रतिलिटर ८५ रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको थियो ।
बोर्डको निर्णयअनुसार डीडीसीले देशभर तीन थरी मूल्य निर्धारण गरेको छ । काठमाण्डु उपत्यकासहित विराटनगर, हेटौँडा र जनकपुरमा प्रतिलिटर ८५, बुटवल भैरहवामा प्रतिलिटर ८१ र नेपालगञ्ज तथा धनगढी क्षेत्रमा प्रतिलिटर ७९ मूल्य कायम भएको छ ।
यसअघि काठमाण्डुमा ७६, बुटवल भैरहवामा ७२ र नेपालगञ्ज क्षेत्रमा ७० रुपैयाँ तोकिएको थियो । बढेको नयाँ मूल्यअनुसार ६ रुपैयाँ ५२ पैसा किसानका लागि तथा प्रतिलिटर दुई ४८ पैसा उद्योगीले पाउनेछन् ।
यसअघि गत माघ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले किसानका लागि प्रतिलिटर ६.५२ रुपैयाँ वृद्धि गरी ५६.०४ रुपैयाँ निर्धारण गरेको थियो । त्यसअघि किसानले बेच्ने दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो ।
प्रतिक्रिया