शानदार जितसँगै नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा प्रवेश

शानदार जितसँगै नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा प्रवेश


काठमाण्डु – नेपाल आइसिसी विश्वकप टि२० विश्वकप छनोट ‘ए’को सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा क्यानडामाथि ८ विकेटको शानदार जित निकाल्दै समूह विजेताको रुपमा नेपालले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

क्यानडाले दिएको ८१ रनको विजयी लक्ष्य नेपालले १४.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्न सफल भयो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३४ रन बनाउँदै अविजित रहे भने दिपेन्द्रसिंह ऐरी २७ रनमा अविजित रहे । अर्का ओपनर आशिफ शेख रनमा १७ रनमा आउट भए ।

नेपालविरुद्ध क्यानडाका लागि कलिम साना र सलमान नजरले समान एकएक विकेट लिए । त्यसअघि ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको क्यानडाले १५ ओभरमा सबै विकेट गुमाएर ८० रनको योगफल तयार पार्‍यो । क्यानडाका दुई ब्याटरले मात्र दोहोरो अंकमा रन जोड्न सके । क्यानडाका डिलोन हेलिगरले सर्वाधिक २३ रन बनाए । यस्तै कप्तान नभनित धनिवालले १८, ओपरन रायान पठानले १४ रनको योगदान गरे ।

जारी प्रतियोगितामा फिलिपिन्सविरुद्ध डेब्यू गर्दै १ सय ८ रनको शतकीय इनिङ खेलेका युवा ओपनर म्याथ्यु स्पोर्ससमेत शुन्य रनमै आउट हुन पुगे । क्यानडालाई सस्तैमा समेट्न बलिङतर्फ नेपालका लागि कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए भने तीव्र गतिका बलर कमलसिंह ऐरीले २ विकेट, अविनाश बोहरा र कुशल मल्लले समान एकएक विकेट लिए ।

जितसँगै शीर्ष स्थानमा रहेर समूह बी को विजेताका रुपमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले लगातार ३ खेलमा जित हात पार्दै ६ अंक जोड्न सफल भयो । नेपालले यसअघि घरेलु टोली ओमान र फिलिपिन्समाथि शानदार जित निकाल्न सफल भएको थियो । अब सेमिफाइनलमा मंगलबार नेपालले समूह ए को उपविजेता युएईसँग खेल्नेछ ।

अर्को सेमिफाइनलमा समूह बीकै उपविजेता ओमान र समूह ए को विजेता आयरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।