मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले पनि मागे माफी

मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले पनि मागे माफी


काठमाडौँ  – झापाको बिर्तामोडस्थित बी एन्ड सी शिक्षण अस्प्तालका सञ्चालक दुर्गा प्रसाईले बंगलादेशमा पढ्न गएका नेपाली चेलीहरूबारे आफूले राखेको भनाइले नेपाली चेलीहरुको आत्मसम्मान र मानमर्यादामा आँच पुगेको भन्दै माफी मागेका छन् ।
भक्तपुरस्थित रफत सञ्चार क्लबमा बोल्दै उनले आफूले करिब १४ महिनाअघि अर्कै आशयले बोलेको कुरालाई तोडमोड गरी सामाजिक सञ्जालमा भाइरल बनाइएको पनि गुनासो गरेका छन् । उनले बंगलादेशमा पढ्न जाने जाने नेपाली चेलीहरुको अवस्था र उनीहरुको शोषणबारे दिएको अभिब्यक्तिलाई हाल आएर तोडमोड गरिएको आरोप पनि लगाए ।

उनले आफूले भन्न खोजेको विषयलाई तोडमोड गरेर विवादित बनाइएको भन्दै उक्त भनाइको आशय सामाजिक सञ्जालमा आएको जस्तो नभएको जिकिर गरे । ‘बंगलादेशमा अध्ययन गर्न जाने चेलीहरुलाई नेपालमै अध्यनको वातावरण सिर्जना गर्न सके राम्रो हुने र त्यहाँ उनीहरुले बिभिन्न खालको शोषणको सामना गर्नुपर्ने अवस्थाको अन्त्य हुने मेरो आशय थियो’, उनले भनेका छन् ।

उनले बंगलादेशमा अध्ययन गर्न गएका चेलीका बारेमा आफूले बोलेको कुराले परेको चोटप्रति क्षमा मागेका छन् । ‘मेरो अभिव्यक्तिको मर्म सामाजिक सञ्जालमा आएको जस्तो थिएन’, उनले भनेका छन्, ‘यसले पर्न गएको असरप्रति क्षमा माग्न चाहान्छु ।’