भरतपुरमा मजदुर र प्रहरीबीच झडप, प्रहरीद्वारा हवाई फायर

भरतपुरमा मजदुर र प्रहरीबीच झडप, प्रहरीद्वारा हवाई फायर


चितवन – अटो रिक्सा तथा ट्याम्पोलाई राजमार्गमा गुड्न नदिने भरतपुर महानगरपालिकाको निर्णयको विरुद्धमा आन्दोलनमा उत्रिएका मजदुर र प्रहरीबीच झडप भएको छ ।  झडपमा प्रहरीले दंगा नियन्त्रण गर्न हवाई फायरसमेत गरेको छ ।

झडपमा दुई जना प्रहरी घाइते भएका छन् भने दर्जनौ आन्दोलनकारीहरु घाइते भएका छन् । चितवनका प्रहरी प्रमुख एसपी सुशिलसिंह राठौरका अनुसार जर्वजस्ती राजमार्ग बन्द गरेर आवागमन प्रभावित गरेपछि खुलाउने क्रममा झडप भएको हो । उनीहरुले एकघण्टा राजमार्ग समेत बन्द गराएका थिए ।
भरतपुर महानगरपालिकाले गएको साउन ५ गतेदेखि राजमार्ग क्षेत्रमा अटो रिक्सा र ट्याम्पो चलाउन रोक लगाउने निर्णय गरेको थियो । सो निर्णयको विरोधमा उच्च अदालत हेटौडामा मुद्धा समेत परेको थियो ।

अदालतले वैकल्पिक सडक भएका स्थानमा अटो रिक्सा राजमार्गमा चलाउन नदिन महानगरको पक्षमा फैसला गरेको थियो । राजमार्गमा गुड्न पाउनुपर्ने अडान मजदुरहरुले नछाडेपछि सहमति नभएको हो । महानगरले सवारी चाप अघिक भएको र दुर्घटना बढाएको भन्दै राजमार्गमा कुनैपनि हालतमा गुड्न नदिने बताउँदै आएको छ ।

आन्दोलनकारीहरुले प्रहरी चौकी अगाडि रहेको एक मोटरसाइकलमा आगजनी गरेर ध्वस्त पारिदिएका छन् । आन्दोलनकारीहरुले एक घण्टा बन्दसहित चोकमा रहेको प्रहरीको बिटमा आगो लगाउन खोजेपछि प्रहरीले हवाई फायर गरेको हो । केही आन्दोलनकारीहरुलाई पक्राउसमेत गरिएको छ ।