चीनका ‘युद्ध नायक’ झु झुचेङ नेपाल आउँदै

चीनका ‘युद्ध नायक’ झु झुचेङ नेपाल आउँदै


काठमाडौँ – सरकारले चीनका युद्ध नायक जनरल झु झुचेङलाई नेपाल भ्रमणको निम्तो दिएको छ।  चीनको जनमुक्ति सेनाको केन्द्रीय सैन्य आयोगका ज्वाईन्ट स्टाफ झुचेङलाई रक्षा मन्त्रालयको प्रस्तावमा नेपाल भ्रमणको निम्तो दिइएको हो। मन्त्रीपरिषद्को २० असारको बैठकले झुचेङलाई नेपाल भ्रमणको निम्तो दिन रक्षालाई स्वीकृति दिएको थियो।

राष्ट्रपति सि चिनफिङ निकट सैन्य कमाण्डर झुचेङ सन् १९७९ को चीन–भियतनाम युद्धमा नायकको उपाधी पाउने सैन्य अधिकारी हुन्। झुचेङले चीन–भियतनाम युद्धमा देखाएको बहादुरीको कदर गर्दै चीनको केन्द्रीय सैन्य आयोगले उनी संलग्न गणलाई ‘नायक गण’ र उनलाई युद्ध नायकको उपाधी दिएको थियो।

सबैभन्दा सानो उमेरमा चीनको शक्तिशाली ४१ औँ सैन्य समूहको कमाण्ड सम्हालेर चर्चामा आएका झुचेङ भूराजनीतिक र सैन्य कुटनीतिका प्रखर मानिन्छन्।

राष्ट्रपति सीसँग निकट रहेर काम गरिरहेका झुचेङले नेपालमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रधानसेनापति राजेन्द्र क्षेत्री लगायतसँग भेटवार्ता गर्नेछन्।

नेपाल–चीन संयुक्त सैन्य अभ्यास दुई वर्षअघि सुरु भएपछि चीनका उच्च सैन्य अधिकारीको नेपाल भ्रमण बाक्लिएको छ। यसै सिलसिलामा केही समयअघि प्रधानसेनापति राजेन्द्र क्षेत्रीले चीन भ्रमण गरेका थिए।