विश्वकप लिग-२: नेपालले पपुवा न्युगिनीलाई २ विकेटले हरायो

विश्वकप लिग-२: नेपालले पपुवा न्युगिनीलाई २ विकेटले हरायो


काठमाण्डु – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) माथि दुई विकेटको रोमाञ्चक जित निकालेको छ ।

यूएईको सारजाह क्रिकेट मैदानमा बुधबार भएको खेलमा दुई सय पाँच रनको विजय लक्ष्य पछ्याएको नेपालले ४९.२ ओभरमा ८ विकेटको क्षतिमा दुई सय १० रन बनायो ।

खराब सुरुवात गरेको नेपालको जितमा रोहित पौडेल र आरिफ शेखले अर्धशतकीय इनिङ्स खेले । रोहितले ५८ रन जोड्दा आरिफले ५३ रन बनाए । यस्तै करण केसीले अविजित रहँदै २९ रनको योगदान गरे ।

पीएनजीका नोरम्यान भानुवा, रिले हेकुरे र एली नाओले २–२ विकेट लिए । यसअघि टस जितेर ब्याटिङमा आएको पिएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २०४ रनको योगफल खडा गर्‍यो ।

पिएनजीका चार्ल्स एमिनीले सर्वाधिक ५९ रन बनाए । उनले पभेलियन फर्किनुअघि ८२ बलमा सात चौका प्रहार गरे । यसबाहेक, चाड सोपरले ३५, टोनी उराले २७, लेगा सिएकाले २५ र नोर्मन भानुआले २३ रन जोडेका थिए ।

नेपालका सोमपाल कामीले तीन विकेट लिँदा कप्तान सन्दीप लामिछाने, आरिफ शेख र ज्ञानेन्द्र मल्लले दुई विकेट लिए । नेपालले ९ खेलमा १० अंक जोडेर छैटौँ स्थानमा छ । अंकविहीन पिएनजी १४ खेल खेल्दै पुछारमा छ ।

शृंखलाको दोस्रो खेल नेपालले मार्च १८ मा युएइविरुद्ध खेल्ने छ । त्यस्तै, तेस्रो खेल मार्च २१ मा युएइविरुद्ध नै हुने छ र शृंखलाको अन्तिम खेल मार्च २२ मा पिएनजीविरुद्ध खेल्ने छ ।