नाबालिग गायिकाबारे पल शाहको बयान : हामीबीच प्रेम सम्बन्ध थिएन

नाबालिग गायिकाबारे पल शाहको बयान : हामीबीच प्रेम सम्बन्ध थिएन


काठमाण्डु – बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । एकजना नाबालिग गायिकामाथि बलात्कार अभियोगमा बिहीबार शाहविरुद्ध जिल्ला प्रहरी कार्यालयले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जबर्जस्ती करणी गरेको मुद्दा दर्ता गरेको हो ।

शाहविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले १६ पृष्ठ लामो अभियोग पत्र तयार पारेको छ । अभियोग पत्रमा पीडित भनिएकी नाबालिग गायिकाका बुवाले दिएको जाहेरीलाई प्रमुख आधार मानिएको छ । तनहुँमा जस्तै गायिकाका बुवाले इलाका प्रहरी कार्यालय गैँडाकोटमा पनि जाहेरी दिएका थिए । जहाँ पहिलो पटक करणीको घटना भएको बताइएको छ ।

त्यसैगरी अभियोग पत्रमा घटना भएको भनिएको ठाउँमा पल शाह र पीडित नाबालिग बसेको देखिएको उल्लेख छ । ‘मिति २०७७ चैत ७ र ८ गते गैँडाकोट रिसोर्टको कोठा नम्बर १०१ र १०२ समेतमा प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाह तथा पीडित समेतको सुटिङ युनिट बसेको भन्ने उक्त रिसोर्टको इन्ट्री बुकको प्रतिलिपि तथा घटनास्थल मुचुल्का समेतबाट देखिएको’, भनेर अभियोग पत्रमा पुष्टि गर्न खोजिएको छ ।

गैँडाकोट रिसोर्ट सञ्चालिका तथा उक्त रिसोर्टका कर्मचारीले मिति २०७७।१२।६ गतेदेखि प्रतिवादी तथा पीडितसहितको सुटिङ युनिटले रिसोर्ट बुकिङ गरी ३ दिनसम्म बसेका अभियोग पत्रमा उल्लेख छ । उक्त अवधिमा प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले पीडितलाई जबरजस्ती करणी गरेको कुरा जाहेरी परेपछि थाहा पाएको भन्ने व्यहोरा उल्लेख गरेका छन् ।

यस्तो छ अभिनेता पल शाहको बयान :

म विगत १० वर्षदेखि कलाकारिता क्षेत्रमा प्रवेश गरि मोडल तथा नायकको भूमिकामा काम गर्दै आइरहेको छु । यसै क्रममा २०७७ साल चैत महिनाको पहिलो हप्ता काजिश श्रेष्ठ, शान थापा, शिव बिकले निर्देशन गरेको सुर्ती माड्दै माड्दै, चरीले, तामा पित्तल, छड्के सलाम भन्ने गीतको म्युजिक भिडियो सुटिङको लागि सम्झौता भएकोले मिति २०७७।१२।४ गते काठमाण्डुबाट नवलपरासीको कावासोतीस्थित आई लोकेशन हेरि बसेको हो ।

अर्को दिन ऐ.५ गते ‘चरी’ले भन्ने गीतको म्युजिक भिडियोको सुटिङ गरिसके पश्चात पीडित परिवर्तित नाम २०७८ गैडाकोट ५ (क) सुर्ती माड्दा माड्दै गीतको म्युजिक भिडियो सुटिङको लागि आई थारु कल्चर भन्ने ठाँउमा अरु केटी मोडलसँग बास बसेकी थिइन् । अर्को दिन ऐ. ६ गते सुर्ती माड्दै गाड्दै गीतको गायिका तथा नायिका पीडितसँग मैले सुटिङ गर्दै जाँदा नभ्याइएकोले सुटिङ युनिट सबैजना चितवन जिल्लाको सौराहा भन्ने ठाँउमा गएर बसेको हो ।

ऐ.७ गते बिहान सौराहामा ‘तामा पित्तल’ भन्ने गीतको म्युजिक भिडियो सुटिङ गरी बेलुका खाना खाई राती अं.१२.१५ बजे सुटिङको टिममध्ये क्यामरा म्यान निर्देशक, म र पीडित गैडाकोट रिसोर्टमा आइसकेपछि म समेतले रक्सी सेवन गरेको हो । उक्त समयमा पीडित कोठामा सुतेकी थिइन् । पछि सुटिङ युनिट आइपुगेपछि हामी आ–आफ्नो कोठामा सुत्न गएका हौं ।

अर्को दिन ऐ.८ गते छड्के सलाम गीतको सुटिङको लागि सुटिङस्थल जाने क्रममा होटलका साहुले पीडित गायिका राति मेरो छोरीसँग सुतेको भनी बताएका थिए । त्यसपछि हामी नारायणी पुलमा गई सुटिङ गरेका हौं । सोही दिन अन्दाजी रातको १०.३० बजेको समयमा सुटिङ युनिटसहित गैडाकोट रिसोर्टमा आई बसेको हो । म उक्त रिसोर्टको कोठा नं.१०१ मा बसेको थिए भने पीडित कोठा नं.१०२ मा बसेकी थिइन् ।

म र पीडित सुत्ने कोठा सँगसँगै भएको कारणले म रातको अं.११ः३० बजे पीडितको कोठामा जाँदा हिजो निजलाई एक्लै सुत्दा डर लागेको र होटल सञ्चालकको छोरीसँग सुतेको कुरा मैले थाहा पाएकोले तिमीलाई हिजोको जस्तो डर त लागेको छैन नी, ल राम्रोसँग सुत भनी म आफ्नो कोठामा गई सुतेको हो ।

अर्को दिन ९ गते विहान उक्त रिसोर्टमा सुर्ती माड्दा माड्दै गीतको केही अंश सुटिङ गरि नारायणी पुल नदी किनारामा छड्के सलाम गीतको भिडियो अञ्जली अधिकारी, सुधीर श्रेष्ठ र म समेतका कलाकारले सुटिङ सकेर काठमाण्डु फर्किएको हो ।

काठमाण्डु फर्किएपछि म र पीडितले भिडियो प्रमोसनको लागि अन्तर्वार्ता दिने गरेका थियौं । हामीबीच राम्रै म्यासेज आदानप्रदान भइरहेको थियो । २०७८ सालको वैशाख महिनामा तनहुँमा म्युजिक भिडियोहरुमा सुटिङ सकेपछि त्यसको करिब एक/दुई महिनापछि पीडितले मलाई फोन गरि ‘तपाईँको र मेरो बारेमा बाहिर स्टुडियोहरूमा कुरा काटिरहेका छन् भनेकी थिइन् । त्यसपछि हामी बीचमा विवाद सिर्जना हुँदै जाँदा गजब टिभीका सञ्चालक सरोज वली, दुर्गेश भन्ने दुर्गाबहादुर थापा, योगेश काजीसँग यो विवादको विषयमा सल्लाह लिएको हो ।

सोही विवादको विषयमा २०७८ साल असार महिनामा मध्य बानेश्वरस्थित होटलमा निजहरु तथा म र पीडित समेत बसी छलफल गर्दा आजै पीडितसँग विवाह गर्ने भनि जोड गरेको हुँदा तीन बर्षसम्म हामीसँगै मिली काम गर्ने र पीडित २० वर्ष पुगेपछि विवाह गर्ने भनी हामीबीच मौखिक सहमति भएका हुन् ।

पुनः पीडितले ‘मलाई तपाईँको गर्ल फ्रेन्ड्स वा श्रीमतीको रुपमा चिनाउनु पर्यो’ भनी बारम्बार म्यासेज गर्न थालेपछि मैले तिमी आफ्नो तरिकाले गर भनी वादविवाद भएको केही समयपछि निज पीडितको तर्फबाट जिल्ला प्रहरी कार्यालय तनहुँमा म उपर उजुरी परेको हुँदा म मिति २०७८/११/१५ गते प्रहरी कार्यालयमा उपस्थित भएकोमा इलाका प्रहरी कार्यालय गैँडाकोटमा समेत म विरुद्ध उजुरी परेकोले मलाई मिति २०७८/११/२३ गते उक्त कार्यालयमा ल्याइएको हो ।

मिति २०७७ चैत्र ७ गते राति रिसोर्टमा मैले मादक पदार्थ सेवन गरेको हो । मैले पीडितलाई मादक पदार्थ सेवन गराई जबरजस्ती करणी गरेको भन्ने व्यहोरा झुठा हो । पीडित तथा जाहेरवालाले म उपर किन जाहेरी दिए मलाई थाहा भएन । म र पीडित बीच प्रेम सम्बन्ध थिएन । बाहिर आएको अडियो क्लिप मिति २०७८ साल असार महिनामा हामीबीच भएको छलफलको अडियो क्लिप हो ।

उक्त अडियोमा भएको आवाज मेरो हो । तर, सोमा भएको कुनै आवाज मेरो नभएको जस्तो लाग्छ । उक्त अडियो क्लिपमा भएको शब्द मैले प्रतिवाद गर्दा उच्चारण भएको हो । मलाई पीडितले स्वीकार गर्नुपर्छ भनेको हुँदा मैले केही ठोस प्रमाण भएमा देखाउनुहोस् भन्दै अरु प्रेमी–प्रेमिकाको उदाहरणसहित स्पष्ट पारेको हो । निजलाई मैले जबरजस्ती करणी गरेको होइन ।