काठमाण्डु- उच्च अदालत पोखराले नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहलाई थुनामा पठाउनुको कारणसहितको कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको छ ।
बुधबार न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासले तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरी सो को जानकारी सरकारी वकिल कार्यालयलाई गराउन आदेश दिएको हो ।
अभिनेता पल शाह जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध मंगलबार पुनरावेदनका लागि उच्च अदालत पुगेका थिए । पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश चित्त बुझ्दो नभएको भन्दै शाहले पुनरावेदन दिएका हुन् ।
मुलुकी फौजदारी कार्यावधि संहिता, २०७४ को दफा ७३ बमोजिम शाहले साधारण तारेखमै रिहा हुन पाउनुपर्ने माग शाहको छ । उक्त निवेदन बुधबार नियमित पेसी सूचीमार्फत न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा परेको थियो ।
उच्च अदालत पोखराले थुनछेक बहस प्रयोजनका लागि अभियुक्तलाई थुनामै पठाउनुपर्ने कारण, त्यसका आधार र त्यस सम्बन्धमा रहेका कागजातहरूको प्रमाणित प्रतिलिपि सहितको कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएका हुन् ।
उच्च अदालत पोखराका सूचना अधिकारी विष्णु आचार्यका अनुसार तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदनसहितको कागजात प्राप्त भएपछि सुनुवाइका लागि पेसी तोकिनेछ ।
प्रतिक्रिया