पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा प्रवेश

पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा प्रवेश


काठमाण्डु – नेपाल घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा प्रवेश गरेको छ । बिहिबार आफ्नो तेस्रो खेलमा पाहुना टोली पपुवा न्युगिनीलाई ३७ रनले पराजित गर्दै नेपालमा फाइनलमा प्रवेश गरेको हो । टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २०४ रनको विशाल पछ्याएको पपुवा न्युगिनी १९.४ ओभरमा १० विकेट गुमाउँदै १६६ रनमा समेटियो ।

पपुवा न्युगिनीका लागि चार्ल्स अमिनीले अर्धशतकिय पारी खेले । उनले ४७ बलमा ९ चौकाको मद्दतमा ६२ रनको योगदान गरे । ओपनरद्वय असाद भाला र लेगा सियाकाले समान एकएक रन बनाए । टोनी उराले ४३ रन बनाउँदा सेसे बाउले २५ रन, नर्मन भनुआले १७ रन, रिले हेकुरेले ६ रन, चाड सोपरले २ रन जोडे । साइमन अताई शून्यमै आउट भए ।

नेपालका लागि करन केसीले पाँच विकेट लिँदा सोमपाल कामी र अविनाश बोहराले समान दुई/दुई विकेट लिए । कप्तान सन्दिप लामिछानेकाे नाममा एक विकेट रह्याे । यसअघि टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०३ रन बनाएको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतकिय पारी इंनिङ्सको योगदान दिए ।

उनले बलमा ४ छक्का र ३ चौकाको मदतमा सर्वाधिक ६६ रन जोडे । त्यस्तै, ओपनरद्वय कुशल भुर्तेल १७ रन तथा आसिफ शेख ३८ रनमा आउट भए । त्यसपछि मध्यक्रम सम्हालेका रोहित पौडेलले ४१ रन बनाए । साथै आजै नेपाली सिनियर टोलीमा डेब्यू गरेका आदिल अन्सारीले ३१ रन जोडे । उनले एकै ओभरमा ३२ रन जोडे । उनले नो बलमै ७ रन जोडेका थिए ।