बिना मगर दोब्बर मतान्तरले विजयी

बिना मगर दोब्बर मतान्तरले विजयी


 

महेन्द्रनगर– कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनकी उम्मेदवार बिना मगर निकटतम प्रतिद्वन्द्वीभन्दा दोब्बर मतान्तरले विजयी भएकी छन् ।

 

 

बिना मगरले ३८ हजार ४ सय ६७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टले १९ हजार २ सय १९ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

 

 

बिनाले दिवानभन्दा १९ हजार २ सय ४८ बढी मत पाएकी छन्। ८८ हजार ५९ मतदाता रहेको कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रमा ६३ हजार ३ सय १ मत खसेकोमा ६० हजार २ सय ६३ मत सदर भएको थियो।

 

दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका दिवानसिंह विष्टसँग बिना मगर झिनो मतान्तरले पराजित भएकी थिइन्।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसँगै बिना मगर कञ्चनपुरबाट केन्द्रीय संसदमा प्रत्यक्ष निर्वाचित भएर पुग्ने पहिलो महिला बनेकी छन् ।

 

यसपालिको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम अर्थात् ७ नम्बर प्रदेशबाट निर्वाचित हुने एक मात्र महिला बन्ने भएकी छन् ।

 

कैलालीको ५ नम्बर क्षेत्रबाट प्रतिस्पर्धामा रहेकी आरजु राणा देउवा पराजित भइसकेकी छन् भने कैलालीको १ नम्बर क्षेत्रबाट प्रतिस्पर्धामा रहेकी वाम गठबन्धनकी उम्मेदवार गरीमा शाह पराजित हुने अवस्थामा पुगेकी छन् ।