बिना मगरको पहिलो घोषणा: स्थानीय तहमा सहायता कक्ष स्थापना

बिना मगरको पहिलो घोषणा: स्थानीय तहमा सहायता कक्ष स्थापना


महेन्द्रनगर– कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएलगत्तै मतदातालाई धन्यवाद ज्ञापन गरेर नवनिर्वाचित सांसद बिना मगरले निरन्तर जनसम्पर्क स्थापित गर्न स्थानीय तहमा सहायता कक्ष (हेल्प डेस्क) स्थापना गर्ने घोषणा गरेकी छन्।

 

मतदातालाई सम्बोधन गर्दै जारी गरिएको धन्यवाद ज्ञापन पत्रमा लेखिएको छ, ‘तपाईहरूसँग निरन्तर जनसम्पर्क स्थापित गर्न तथा गुनासो र समस्याको समाधानका लागि स्थानीय तहमा सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिने प्रतिवद्धता समेत पुनः जाहेर गर्न चाहन्छु ।’

 

 

निर्वाचन प्रचारका क्रममा सार्वजनिक गरेको प्रतिवद्धतापत्रलाई मुख्य मार्गचित्र मानेर क्षेत्रको विकासमा लाग्नुपर्नेमा वाम गठबन्धनका उम्मेदवार एकमत रहेको नवनिर्वाचित सांसद बिना मगरद्वारा जारी धन्यवाद ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

 

 

‘स्थानीय, प्रदेश र केन्द्र सरकारमा वाम गठबन्धनकै नेतृत्व हुने भएकाले विकास गर्न सहज हुनेछ । ३ वटै तहबीच आवश्यक समन्वय गरेर विकासको सपनालाई मूर्तरुप दिनुपर्नेमा म दृढ छु ।

 

 

संसद र सिंहदरबारमा सक्रिय भूमिका निर्वाह गरेर आफ्नो क्षेत्रमा बढीभन्दा बढी बजेट र योजना ल्याउने र समयसीमाभित्रै प्रभावकारी कार्यान्वयन गराउने विषय मेरा लागि प्रमुख हुने छन्,’ धन्यवाद पत्रमा लेखिएको छ ।

 

‘मानसिक रुपमा जटिल परिस्थिति र स्वास्थ्य अवस्था अनुकूल नभएका बेला तपाई आमाबुबा, दाजुभाई, दिदीबहिनी लगायतबाट मैले पाएको साथ जीवनभर बिर्सिने छैन,’ धन्यवाद पत्रमा लेखिएको छ।

 

 

‘हालसम्म विकासको अनुभूति गर्न नपाएको दुर्गम क्षेत्रको सेवा गर्ने मेरो संकल्प र विकास भएको देख्ने तपाईहरूको चाहना मेल खाएकै कारण मैले यतिधेरै मत पाएकी हुँ,’ धन्यवाद ज्ञापनपत्रमा लेखिएको छ, ‘यतिधेरै मतदाताको विश्वास र साथ मेरा लागि एकातिर अवसर हो भने अर्कोतिर चुनौति पनि । तर, म आफ्नो दक्षता र क्षमताको भरपूर उपयोग गर्दै जनताको अपेक्षा पूरा गर्न निरन्तर खटिने प्रतिवद्धता जाहेर गर्दछु ।’

 

 

संसद र सिंहदरबारमा सक्रिय भूमिका निर्वाह गरेर आफ्नो क्षेत्रमा बढीभन्दा बढी बजेट र योजना ल्याउने र समयसीमाभित्रै प्रभावकारी कार्यान्वयन गराउने विषय प्रमुख हुने बिना मगरले जनाएकी छन् । निर्वाचनको प्रक्रिया अनुसार बहुमतका आधारमा जितेपनि सर्वमतको सम्मान गर्ने सांसद बिना मगरले जनाइन् ।

 

 

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसँगै बिना मगर कञ्चनपुरबाट केन्द्रीय संसदमा प्रत्यक्ष निर्वाचित भएर पुग्ने पहिलो महिला बनेकी छन् । यसपालिको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम अर्थात् ७ नम्बर प्रदेशबाट निर्वाचित हुने एक मात्र महिला बन्ने भएकी छन् । कैलालीको ५ नम्बर क्षेत्रबाट प्रतिस्पर्धामा रहेकी आरजु राणा देउवा पराजित भइसकेकी छन् भने कैलालीको १ नम्बर क्षेत्रबाट प्रतिस्पर्धामा रहेकी वाम गठबन्धनकी उम्मेदवार गरीमा शाह पराजित हुने अवस्थामा पुगेकी छन् ।

 

बिना मगर विजयी भएको क्षेत्रबाट प्रदेशसभा १ बाट तारालामा तामाङ र प्रदेशसभा २ बाट कुलवीर चौधरी विजयी भएका छन् । कञ्चनपुरको १ नम्बर क्षेत्रमा वाम गठबन्धनले सानदार जीत हात पारेको छ ।