इटहरी उपमहानगरपालिका : एमालेलाई परम्परागत गढ बचाउन सकस, कांग्रेस गठबन्धनको तयारीमा

इटहरी उपमहानगरपालिका : एमालेलाई परम्परागत गढ बचाउन सकस, कांग्रेस गठबन्धनको तयारीमा


काठमाण्डु – सुनसरीको इटहरी परम्परागत रूपमा एमालेको प्रभाव क्षेत्रका रूपमा चिनिन्छ । प्रजातन्त्र आएपछि भएका सबै तीन स्थानीय चुनावमा इटहरीमा एमालेले नै जितिरहेको छ । आगामी चुनावमा आफ्नो गढ बचाउन उसले हरसम्भव प्रयास गर्नेछ ।

यता संघीय सत्ता चलाइरहेका पाँच दल यसपटक तालमेल गरेर भए पनि इटहरीमा एमालेलाई हराउने योजनामा देखिन्छन् । यो उपमहानगरमा माओवादी कमजोर छ । एमाले विभाजनको असर भने परेको छ ।

०७४ को निर्वाचन परिणाम

२० वटा वडा रहेको इटहरीमा ०७४ सालको निर्वाचनमा एमाले मेयर र उपमेयरसहित आठवटा वडा जित्न सफल भयो । मेयरमा एमालेका द्वारिकलाल चौधरी २२ हजार ६ सय ८९ मत ल्याएर विजयी भए । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रोहितप्रसाद प्रसाईंले १९ हजार नौ सय ८५ मत पाए । राप्रपाका रोहितकुमार कार्कीले तीन हजार सात सय १५ तथा माओवादी केन्द्रकी हरिमाया जिमीले तीन हजार तीन सय ६४ मत प्राप्त गरे ।

त्यसैगरी, उपमेयरमा एमालेकी लक्ष्मीकुमारी गौतम २१ हजार आठ सय ४२ मत ल्याएर विजयी भइन् । कांग्रेसकी विमला सिवाकोटीले १८ हजार तीन सय ५२ मत पाइन् । माओवादीका भीमप्रसाद सुवेदीले चार हजार आठ सय ३१ र राप्रपाकी माया रायमाझीले तीन हजार नौ सय १९ मत ल्याएका थिए । मेयर–उपमेयरमा हारे पनि कांग्रेसले बहुमत वडामा अध्यक्ष जित्यो । २० मध्ये उसले ११ मा र एमालेले आठ वडामा अध्यक्ष जित्यो । पछि कांग्रेसमा मिलेको फोरम लोकतान्त्रिक पनि एउटा वडा जित्न सफल भयो ।

बदलिएको परिस्थिति र सम्भावित परिणाम

एमालेलाई आफ्नो परम्परागत गढ बचाउन अहिले त्यति सजिलो देखिँदैन । किनकि अवस्था धेरै बदलिएको छ । पार्टी विभाजित भएको छ र त्यसको असर इटहरीमा राम्रै परेको छ । एकीकृत समाजवादीले एमालेका केही हजार मत काट्ने आकलन गरिएको छ । यद्यपि, राप्रपाका प्रभावशाली नेता रोहितकुमार कार्की र अघिल्लो चुनावमा माओवादीबाट उपमेयरका उम्मेदवार बनेका भीमप्रसाद सुवेदीलाई भित्र्याएर एमालेले क्षतिपूर्ति गर्न खोजेको छ ।

माओवादीबाटै संघीय सांसदका उम्मेदवार बनेका हिमाल सुवेदी पनि एमालेमा गएका छन् । इटहरी क्षेत्रमा केही प्रभाव देखाएको फोरम लोकतान्त्रिक कांग्रेसमा समाहित भएको छ । सत्तासाझेदार दलबीच तालमेलको प्रयास भइरहेको छ । एमालेले पनि राप्रपासँग तालमेल गर्ने सम्भावना छ । यदि त्यसो भयो भने इटहरीमा तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

एकीकृत समाजवादीले कति मत ल्याउँछ भन्नेले पनि इटहरीको परिणाम प्रभावित हुन सक्छ । त्यसबाहेक हारजितका लागि अर्को मुख्य फ्याक्टर उम्मेदवारको अनुहार हुनेछ । प्रभावशाली र लोकप्रिय उम्मेवार छान्ने दलका लागि चुनाव जित्न सहज हुनेछ । सत्तासाझेदार दलबीच समीकरण बन्दा कांग्रेसले मेयर पाउने निश्चित छ । उपमेयरमा माओवादी र एकीकृत समाजवादीले दाबी गरेका छन् । हालका मेयर द्वारिकलाल चौधरीको विवादास्पद छविका कारण पनि यहाँ एमालेलाई केही घाटा हुन सक्छ । तर, कस्तो गठबन्धन बन्छ, उम्मेदवार को हुन्छन् र एकीकृत समाजवादीले कति मत ल्याउँछ ? यीनै कुराले नै इटहरी उपमहानगरपालिकाको नतिजा तय गर्नेछ । यद्यपि थपिएका मतदाता पनि यहाँ निर्णायक हुन सक्छन् ।

सम्भावित उम्मेदवार

एमालेको नगर कमिटीले हालका मेयर द्वारिकलाल चौधरीसहित ६ जनाको नाम उम्मेदवारीका लागि सिफारिस गरेको छ । सिफारिस भएका अन्यमा उपमेयर लक्ष्मी गौतम, नगर कमिटी अध्यक्ष यमकुमार सुब्बा, इटहरी खानेपानीका अध्यक्ष रामप्रसाद चौलागाईं, पूर्व नगर अध्यक्ष रेवतीप्रसाद घिमिरे र जिल्ला सदस्य बन्नुलाल चौधरी छन् । एमालेले उपमेयरमा पनि नौजनाको नाम सिफारिस गरेको छ ।

कांग्रेसबाट लगातार तीनपटक पार्टीको नगर सभापति रहेका हेमकर्ण पौडेल मुख्य दाबेदार देखिएका छन् । यसबाहेक अघिल्लोपटक मेयरमा पराजित भएका रोहित प्रसाई र व्यवसायी भीम पौडेल पनि कांग्रेसबाट मेयरका दाबेदार हुन् । माओवादी र एकीकृत समाजवादी तालमेलको प्रयासमा लागेकाले मेयरका आकांक्षी देखिएका छैनन् ।

मतदाताको अवस्था

०७४ सालमा ७७ हजार ६ सय ९७ मतदाता रहेकोमा खसेको मतको ५२ हजार पाँच सय २२ मत सदर भएको थियो । यो स्थानीय तहमा झन्डै २७ हजार मतदाता थपिएका छन् । आगामी स्थानीय तहका लागि मतदाता संख्या एक लाख चार हजार ६ सय २६ पुगेको निर्वाचन आयोगले जनाएको छ ।