काठमाण्डु – नेपालगन्ज उपमहानगरपालिकामा पनि स्थानीय तह चुनावको महोल तात्न थालेको छ । ०७४ सालको चुनावमा राप्रपाले उपमहानगरको मेयर जितेको थियो । सांगठनिकभन्दा पनि व्यक्तिगत प्रभावका कारण डा। धवलशमशेर राणा मेयर बनेका थिए । यसपटक उनले उम्मेदवारी नदिने बताएका छन् । नेपालगन्जमा गठबन्धन भएन भने बहुपक्षीय प्रतिस्पर्धाको सम्भावना छ । यद्यपि, दलगत रूपमा भने यो उपमहानगरमा कांग्रेस बलियो देखिन्छ ।
विगतको मतपरिणाम
गत निर्वाचनमा मेयर जितेका राप्रपाका डा. धवलशमशेर राणाले १२ हजार पाँच सय १५ मत ल्याएका थिए । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुरेशकुमार कनोडियाले आठ हजार सात सय ३० मत प्राप्त गरे । माओवादी केन्द्रका दामोदर आचार्य सात हजार एक सय ९८ मतसहित तेस्रो भए । एमालेका समसुद्दिन सिद्दिकीले ६ हजार नौ सय ६५ र तत्कालीन संघीय समाजवादी फोरमका कमरुद्दिन राईले पाँच हजार चार सय ४१ मत पाएका थिए ।
उपमेयरमा कांग्रेसकी उमा थापामगरले चुनाव जितिन् । उनले १० हजार सात सय ३१ र प्रमुख प्रतिद्वन्द्वी राप्रपाकी रमारानी गुप्ताले आठ हजार नौ सय २४ मत पाइन् । एमालेकी शान्तिदेवी ढकालले सात हजार सात सय ७३, माओवादीकी कलामुन अन्सारीले सात हजार ६७ र तत्कालीन नयाँ शक्ति पार्टीकी शोभाकुमारी लखेरले पाँच हजार तीन सय ८९ मत पाए ।
सम्भावित समीकरण र नतिजाको आकलन
मेयर राणाले अब उम्मेदवार नबन्ने बताएका छन् । राप्रपामा राणाजस्तो नेता अरू कोही छैन । उपमहानगरमा राप्रपाको बलियो जनाधार छैन । अहिले पार्टी पनि विभाजित भएको छ । सत्तासाझेदार दलबीच गठबन्धन भयो भने राप्रपा र एमालेबीचमा पनि तालमेल हुन सक्छ । त्यस्तो अवस्थामा एमालेले मेयर र राप्रपाले उपमेयर पाउन सक्छ । सतासाझेदार दलमा तालमेल हुँदा कांग्रेसले मेयर पाउने निश्चित भए पनि उपमेयरका लागि माओवादी र जनता समाजवादी पार्टीबीच हानथाप हुन सक्छ । यहाँ एमालेको जनाधार खासै बलियो छैन । त्यसमा पनि अहिले पार्टी विभाजित छ ।
तर, उसले अहिले नेपालगन्ज क्षेत्रमा राम्रो जनाधार भएका पशुपतिदयाल मिश्रालाई पार्टीमा भित्र्याएर प्रतिस्पर्धामा उत्रन खोजेको छ । उनलाई मेयरको उम्मेदवार बनाउने सहमति गरेरै एमालेमा ल्याइएको नेपालगन्ज क्षेत्रमा चर्चा छ । एमाले र राप्रपा तथा सत्तासाझेदार दलबीच तालमेल भयो भने दुई गठबन्धनका बीचमा कडा टक्कर हुने अनुमान गरिएको छ । एमाले एक्लै मैदानमा उत्रियो भने गठबन्धनलाई जित्न सहज हुनेछ । किनकि उपमहानगरमा कांग्रेस, माओवादी र जसपा तीनै दलको राम्रो मत छ ।
यसबाहेक नेपालगन्जमा मिश्रित जात, धर्म र भूगोल भएकाले उम्मेदवारका कारण पनि परिणाम तलमाथि हुन सक्छ । गत चुनावमा पनि राणाले व्यक्तिगत प्रभावकै कारण मेयर जितेका थिए । थपिएका मतदाता पनि यसपटक निर्णायक हुन सक्नेछन् । किनकि गत चुनावमा हारजितको फरक धेरै छैन । तर, यसपटक नयाँ मतदाताको संख्या उल्लेख्य देखिन्छ ।
सम्भावित उम्मेदवार
कांग्रेसबाट अघिल्लो चुनावमा हारेका डा. सुरेशकुमार कनोडिया नै मेयरको उम्मेदवार बन्ने सम्भावना बढी छ । यसबाहेक अहिलेकी उपमेयर उमा थापामगर, केन्द्रीय सदस्य मैकुलाल वाल्मीकिले पनि आकांक्षा राखेका छन् ।
एमालेबाट पशुपतिदयाल मिश्र नै उम्मेदवार हुने सम्भावना छ । माओवादीबाट नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नन्दलाल वैश्यले मेयरमा आकांक्षा राखेका छन् । जनता समाजवादी पार्टीबाट कमरुद्दिन राई मुख्य दाबेदार हुन् । उनी पूर्वमन्त्री एवं संघीय सांसद मोहम्मद इस्तियाक राईका दाइ हुन् । राप्रपाबाट मोहम्मद सफिक बेहनाले दाबी गरेका छन् । वडाध्यक्षसमेत रहेका बेहना व्यवसायी हुन् ।
मतदाताको संख्या
२३ वटा वडा रहेको उपमहानगरमा ०७४ सालको निर्वाचनमा ६२ हजार तीन सय ९७ मतदाता थिए । अहिले झन्डै २० हजार मतदाता थपिएका छन् । आगामी चुनावका लागि ८१ हजार सात सय ९४ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । यीमध्ये ४३ हजार एक सय ११ पुरुष र ३८ हजार ६ सय ७९ महिला छन् ।
प्रतिक्रिया