अप्पर तामाकोसीको सेयर खुल्यो, दोलखाबासीले बुधबारबाट आवेदन दिन सक्ने

अप्पर तामाकोसीको सेयर खुल्यो, दोलखाबासीले बुधबारबाट आवेदन दिन सक्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीले आयोजना प्रभावित दोलखाबासीका लागि सेयर निष्कासन गर्ने भएको छ । दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको स्थानीयका लागि छुट्याइएको १ करोड ५ लाख ९० हजार कित्ता सेयर निष्कासन गरेर बुधवारबाट बाँडफाँड गर्न लागिएको हो ।

नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि गत असार २४ देखि साउन ९ गतेसम्म सेयर निष्कासन गर्ने तय गरिए पनि जिल्लाबासीको आग्रहअनुसार अवधि सारेर निष्कासन गर्न बताइएको छ ।
प्रतिकित्ता सय रुपैयाँ अंकित १ अर्ब ५ करोड ९० लाख रुपैयाँ मूल्यको सेयर खरिद गर्न आगामी भदौ १४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार लगानीकर्ताले न्युनतम ३० देखि अधिकतम ३ सय कित्ता खरिद गर्न पाउने गरी आवेदन दिन सक्नेछन् ।

जिल्लाका विभिन्न बैंक तथा वित्तीय संस्थाको शाखाको २१ स्थानबाट सेयर आवेदन दिने व्यवस्था गरिएको छ । बैंक तथा वित्तीय संख्याका शाखा नभएका स्थानमा घुम्ती संकलन केन्द्र राखिने भएको छ । स्थानीयलाई आउजाउ गर्न कठिनाई हुने दुर्गम स्थानमा स्वयंसेवक परिचालन गरी आवेदन संकलन गरिने कम्पनीले जनाएको छ ।

जिल्लाबासीलाई सेयर आवेदन भर्न डिम्याट खाता अनिवार्य गरिएको छैन । ३ वर्षको लकिङ अवधि पूरा भएपछि भने लगानीकर्ताले अनिवार्यरुपमा डिम्याट खाता खोल्नुपर्नेछ ।

काठमाडौंमा बसोबास गर्दै आएका दोलखाली जनताले पनि सेयर खरिद गर्न आवेदन दिन पाउने भएका छन् । राजधानीबासीका लागि सनराइज बैंकका शाखाहरुबाट आवेदन दिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

सेयर खरिद गर्न आवेदन दिन पाउने दोलखाबासीलाई आयोजनाबाट अतिप्रभावित, कमप्रभावित र प्रभावितको सूचीमा वर्गिकरण गरिएको छ । सेयर निष्कासन तथा बाँडफाँड गर्न नागरिक लगानी कोष र सनराइज क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।

दोलखाबासीका लागि सेयर निष्कासन गरी बाँडफाँड गरेपछि साधारण सेयर निष्कासन गर्ने कम्पनीको तयारी छ । स्वपुँजी लगानीको १५ प्रतिशत अर्थात १ करोड ५८ लाख ८५ हजार कित्ता साधारण सेयर निष्कासन गरिनेछ । सर्वसाधारणले न्युनतम ५० देखि अधिकतम १ हजार कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन् ।

स्थानीय र सर्वसाधारणलाई सेयर बिक्री गरेर २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ संकलन गर्ने कम्पनीको लक्ष्य छ । कम्पनीले निर्माण गरिरहेको माथिल्लो तामाकोसीबाट आगामी पुसदेखि विद्युत उत्पादन गर्ने तालिका छ ।