सरकारले नियुक्ती भटाभट गरेपछि एमाले अध्यक्ष ओलीले दिए मुख्यसचिव रेग्मीलाई चेतावनी

सरकारले नियुक्ती भटाभट गरेपछि एमाले अध्यक्ष ओलीले दिए मुख्यसचिव रेग्मीलाई चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– भावी प्रधानमन्त्रीको रुपमा हेरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार नबनेसम्म नेपाल प्रहरीलगायतका सुरक्षा निकाय र अन्य क्षेत्रमा कुनै नियुक्ति नगर्न नगराउन सरकारका मुख्यसचिव लोकदर्शन रेग्मीलाई चेतावनी दिएको खुल्न आएको छ ।

 

 

 

स्थायी सरकार मानिने कर्मचारीतन्त्रले कामचलाउ सरकारले जाँदाजाँदै नियुक्ति बढुवालगायतका काम गर्न खोजेमा रोक्नुपर्ने बताउँदै ओलीले मुख्यसचिव रेग्मीलाई यस्तो चेतावनी दिएको ओलीको निजी सचिवालय स्रोतले बतायो ।

 

 

प्रधानमन्त्री शेरबहादुर देउवाले जाँदाजाँदै नेपाल प्रहरीको आईजीपी परिवर्तन गरेर आफूनिकटका एआईजीलाई आईजीपी बनाउने र अध्यादेशमार्फत प्रहरीमा विद्यमान ३० वर्षे सेवा हद हटाएर ३२ वर्ष बनाउन खोजेको सुइँको पाएपछि अध्यक्ष ओलीले मुख्यसचिव रेग्मीलाई सरकारका गलत काम अगाडि नबढाउन चेतावनी दिएको स्रोतको भनाइ छ ।

 

 

 

‘अबको केही दिनमा नयाँ सरकार आउँछ, त्यतिबेलासम्म अहिलेको सरकारले गर्न खोज्ने दैनिक कार्य सञ्चालन बाहेकका निर्णयको लागि आउने प्रस्तावहरु रोक्नुहोला, अन्यथा राम्रो हुँदैन,’ ओलीलाई उद्धृत गर्दै स्रोतले भन्यो ।

 

 

 

गत सोमबारको मन्त्रिपरिषद् बैठकले गोरखापत्र संस्थानको महाप्रबन्धकमा बसन्तप्रकाश उपाध्याय र नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेललाई नियुक्त गर्दै नेपाली सेनाका केही सहायक रथीहरुको पदावधि थप गर्ने निर्णय गरेपछि एमालेले विज्ञप्ति जारी गरेरै विरोध जनाएको थियो ।

 

 

 

एमाले महासचिव ईश्वर पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा अहिलेको कामचलाउ सरकारले गरेका सम्पूर्ण निर्णय नयाँ बन्ने वाम गठबन्धनको सरकारले खारेज गर्ने चेतावनीसमेत दिइएको थियो ।

 

 

 

प्रधानमन्त्री देउवाले नेपाल प्रहरी र न्यायालयमा हस्तक्षेप गरेका कारण नेपाली कांग्रेसले पराजय बेहोर्नुपरेको भन्दै पार्टी्भित्र पनि आवाज उठेको छ । यही क्रममा देउवाले पुनः नेपाल प्रहरीमा ९ डीआईजीको पद थपेर १४ जना एसएसपीलाई डीआईजी बनाउने तयारी गरेपछि उक्त काम तुरुन्त रोक्न ओलीले निर्देशन दिएको खुल्न आएको छ ।

 

 

प्रधानमन्त्री देउवाले जाँदाजाँदै प्रदेश प्रमुखको नियुक्ति, नेपाल प्रहरीमा ३० वर्षे सेवा हद हटाउने र डीआईजीदेखि डीएसपीसम्म बढुवा गर्ने र सशस्त्र प्रहरीमा एआईजीको पद थप्ने तयारी गरेको बुझिएको छ ।