गठबन्धन हुँदा बैतडीमा एमालेलाई कठिन

गठबन्धन हुँदा बैतडीमा एमालेलाई कठिन


काठमाण्डु – सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लामा चार नगरपालिकासहित नौ स्थानीय तह छन् । वैशाख ३० को स्थानीय निर्वाचन नजिकिँदै गर्दा जिल्लामा राजनीतिक दलहरूले तालमेलका प्रयास र प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।

केन्द्रीय निर्णयअनुसार जिल्लामा कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच तालमेलको प्रयास भएका छन् । एमाले र राप्रपाबीच पनि तालमेलको प्रयास भएका छन् ।

०७४ को स्थानीय निर्वाचनमा कांग्रेसले तीन नगरपालिका र दुई गाउँपालिका जितेको थियो । एमालेले तीन र माओवादीले एक पालिका जितेका थिए । कांग्रेसले दशरथचन्द नगरपालिकामा मेयर र उपमेयर दुवै जितेको थियो । राप्रपाका मेयरका उम्मेदवार ६२ मतान्तरले पराजित भएका थिए । यसपटक एमाले र राप्रपाबीच तालमेल भए कांग्रेसलाई चुनौती बन्न सक्छ । यद्यपि, एमाले र राप्रपा दुवै विभाजन भएका छन् । एमाले विभाजनको असर जिल्लामा केही मात्रामा परेको छ भने राप्रपाको यकिन छैन ।

यसबाहेक कांग्रेसले पाटन र मेलौली नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै जितेको थियो । शिवनाथ गाउँपालिकाको अध्यक्ष कांग्रेसले र उपाध्यक्ष एमालेले जितेको थियो । अध्यक्षमा कांग्रेसले ३८ मतान्तर जितेको थियो । सिगास गाउँपालिकामा प्रमुख र उपप्रमुख पनि कांग्रेसले जितेको थियो । यो पालिकामा राप्रपासँग प्रतिस्पर्धा भएको थियो । सुर्नया गाउँपालिकाको प्रमुख कांग्रेस र उपप्रमुख एमालेले जितेको थियो ।

जिल्लाको दोस्रो शक्ति एमालेले डिलासैनी, दोगडाकेदार र पञ्चेश्वर गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा थोरै मतान्तरले जितेको थियो । अहिले गठबन्धनबीच तालमेल भए एमालेलाई विगतको बिरासत जोगाउन कठिन देखिन्छ । तेस्रो शक्ति माओवादीले पुर्चौडी नगरपालिकामा मेयर–उपमेयर दुवै जितेको थियो । जिल्लामा कांग्रेससँग सहमति नजुटे माओवादी र एकीकृत समाजवादीबीच मात्रै पनि तालमेल गर्ने प्रयास भएको छ । यस्तो अवस्थामा भने जिल्लामा मिश्रित परिणाम आउने देखिन्छ । यद्यपि, नयाँ मतदाता र दलले तय गर्ने उम्मेदवारले जित–हारको निर्धारण गर्नेछ ।

बैतडीमा स्थानीय निर्वाचनका लागि १ लाख ४८ हजार ६ सय ६ मतदाता छन् । त्यसमध्ये ७३ हजार ८ सय ८३ पुरुष र ७४ हजार ७ सय २१ महिला छन् । जिल्लामा २ जना अन्य छन् । निर्वाचनका लागि ६ राष्ट्रियबाहेक राष्ट्रिय मान्यता प्राप्त नगरेका, तर आफ्नै निर्वाचन चिह्न प्राप्त गरेका १० दल दर्ता छन् ।