रसुवामा दुई अध्यक्ष र पाँचवटै उपाध्यक्ष जितेको एमालेले नतिजा दोहोर्‍याउन सक्ला ?

रसुवामा दुई अध्यक्ष र पाँचवटै उपाध्यक्ष जितेको एमालेले नतिजा दोहोर्‍याउन सक्ला ?


काठमाण्डु – बागमती प्रदेशको हिमाली जिल्ला रसुवामा पनि दलहरूले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा पाँचवटा स्थानीय तह छन् । ती सबै गाउँपालिका हुन् । रसुवामा कांग्रेस, एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको प्रभाव छ । तर, एमाले अग्रस्थानमा देखिन्छ ।

०७४ सालको चुनावमा जिल्लाका दुई गाउँपालिकाको अध्यक्षमा एमाले, दुईमा कांग्रेस र एकमा तत्कालीन नयाँ शक्ति पार्टी विजयी भएको थियो । उपाध्यक्ष भने पाँचवटैमा एमालेले जित्यो । एमालेले कालिका र गोसाइँकुण्ड गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष नै जितेको थियो । उसले उत्तरगया, नौकुण्ड, आमाछोदिङ्मो गाउँपालिकामा उपाध्यक्ष पनि जित्यो । कांग्रेसले उत्तरगया र नौकुण्डमा अध्यक्ष जित्यो । यस्तै, आमाछोदिङ्मोको अध्यक्षमा नयाँ शक्तिका उम्मेदवार विजयी भए ।

जिल्लामा सत्ता साझेदार दलले गठबन्धनको प्रयास गरे पनि सफल हुन सकेन । त्यसैले सबै गाउँपालिकामा दलहरूले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् । गठबन्धन बनेको अवस्थामा एमालेले गोसाइँकुण्डबाहेकका गाउँपालिका गुमाउनुपर्ने हुन सक्छ । तर, अहिलेसम्म त्यस्तो सम्भावना कम देखिएको छ । उत्तरगयामा कांग्रेस, माओवादी र जसपा मिल्दा एमालेको भन्दा धेरै मत हुन्छ । कालिका गाउँपालिकामा पनि तीन दलको मत एमालेको भन्दा बढी छ ।

गोसाइँकुण्डमा भने सबै दल मिल्दा पनि एमाले नै हाबी देखिन्छ । नौकुण्डमा पनि सत्ता गठबन्धन बने एमाले पछि पर्न सक्छ । आमाछोदिङ्मोमा जितेको नयाँ शक्ति अहिले जसपा बनिसकेको छ । तर, अहिले ऊ एक्लै चुनाव जित्ने अवस्थामा छैन । केही कार्यकर्ता एमालेतिर लागेका छन् । यो गाउँपालिकामा एमालेबाट अध्यक्षमा उम्मेदवारी दिएका दुईजनाको प्रक्रिया नमिलेका कारण नाम दर्ता हुन सकेको छैन । उम्मेदवारी खारेजसमेत हुन सक्ने सम्भावना छ ।

समग्रमा रसुवामा गठबन्धन बनेन भने एमालेले नै धेरै गाउँपालिका जित्ने देखिन्छ । कांग्रेसले पहिलेभन्दा प्रगति गर्न सक्छ । एमाले विभाजनको पनि केही असर परेको र जसपा पहिलेजस्तो मजबुत नभएकाले कांग्रेसले धेरै जित्ने आकलन गरिएको छ । जिल्लामा आगामी चुनावका लागि ३८ हजार ५ सय ४५ मतदाता छन् । तीमध्ये १९ हजार ६ सय ८९ पुरुष र १८ हजार ८ आठ ५६ महिला छन् ।