काठमाण्डु – ग्लोबल आईएमई बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच विभिन्न सौर्य मिनी ग्रिड परियोजना निर्माणमा लगानी गर्नेबारे सम्झौता भएको छ । बुधबार उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुधन अधिकारीले हस्ताक्षर गरेका हुन् ।
नेपाल सरकार अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र बैंकले सौर्य मिनी ग्रिडमा लगानी गर्नेछन् । सहायक ऋण सम्झौता अनुसार कार्यान्वयनको लागि केन्द्रले बैंकलाई रकम उपलब्ध गराउने छ । उक्त रकम बैंकले १०० किलोवाट पिक सौर्य मिनी ग्रिड परियोजना निर्माण÷जडान तथा विद्युत् वितरण कार्यको लागि ऋणको रूपमा उपलब्ध गराउने छ ।
यस सम्झौताअन्तर्गत बैंकले देशका दूरदराजमा सञ्चालन हुने साना परियोजनाका लागि विभिन्न बैंकिङ्ग सुविधा प्रदान गर्ने छ । उक्त कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, केन्द्रका नायव कार्यकारी निर्देशक नवराज ढकाल तथा अन्य उच्च पदस्त कर्मचारीहरूको उपस्थिति थियो ।
बैंकका देशभर २८८ शाखा, २५२ एटीएम, २७५ शाखारहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय संचालनमा छन् ।
प्रतिक्रिया