जिम्बाब्बे ‘ए’ सँगको पहिलो खेलमा नेपाल पराजित

जिम्बाब्बे ‘ए’ सँगको पहिलो खेलमा नेपाल पराजित


काठमाण्डु – एकदिवसीय शृंखलाअन्तर्गत पहिलो खेलमा जिम्बाब्बे ‘ए’ ले नेपाललाई ३ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको १३७ रनको लक्ष्य पुरा गर्दै जिम्बावे ए विजयी भएकाे हाे ।

 जिम्बाब्बे ‘ए’ ले २६ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पुरा गर्यो  । जिम्बावेका लागि ओपनर इन्नोसेन्ट काईयाले एक छेउबाट पारी सम्हाल्दै अविजित रहेर सर्वाधिक ४८ रन बनाए । ४८ बलमा उनले चार चौका र एक छक्का प्रहार गरे । अर्का ओपनर सेफास जुवायो ३२ रन बनाए । राए काईयाले १४ रन जोडे । ब्राड ईभान्सले एक चौका र दुई छक्का मद्दतमा अविजित १७ रन बनाए ।

ब्राडले २६औं ओभरमा सुशन भारीलाई दुई छक्का र एक चौका प्रहार गर्दै जित पक्का गरेका थिए । बलिङमा नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले २–२ विकेट लिए । सोमपाल कामी र सागर ढकालले १–१ विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३१.३ ओभरमा सबै विकेट गुमाएर १३६ रनको योगफल खडा गरेको थियो । जिम्बावे ‘ए’का बलरको धारिलो बलिङसामू नेपाली ब्याटरले खुलेर खेल्न सकेनन् । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाए । उनले ७० बल खेल्दा २ चौका र १ छक्का प्रहार गरे ।

करण केसीले ३६ बल खेल्दै ३ चौका मद्दतमा २५ रन बनाए । सोमपाल र करणले आठौँ विकेटका लागि ३७ रनको साझेदारी गरे । ओपनर कुशल भुर्तेलले १९ र दीपेन्द्र सिंह ऐरीले १८ रन बनाए । पहिलो ओभरमै ३ चौकासहित १४ रन जोडेका कुशलले १० बल खेल्दै कुल चार चौका प्रहार गरे । दीपेन्द्रले २० बल खेल्दै ३ चौका प्रहार गरे ।

आसिफ शेख र आरिफ शेख समान ५ रन बनाएर आउट भए भने रोहित पौडेलले ३ तथा आदिल आलमले २ रन बनाएर आउट भए । यस्तै कप्तान सन्दीप ४ रन बनाएर आउट हुँदा सुशन भारीले खाता खोल्न सकेनन् । जिम्बावेका ब्राड एभान्सले सर्वाधिक ४ विकेट लिए । यस्तै भिक्टोर न्याउची, ब्राण्डन मभुता र सेफास जुवायो २–२ विकेट लिएका थिए ।