किन तोके केपी ओलीले गठबन्धनको आयु असार १७ ?

किन तोके केपी ओलीले गठबन्धनको आयु असार १७ ?

ओलीको बोली मनोबैज्ञानिक झटारो– कांग्रेस प्रवक्ता महत


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनको आयु अब धेरै दिन नरहेको दावी गरेका छन् । आइतबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले आगामी असार १७ गते नै गठबन्धनको आयु अन्त्य हुने बताएका हुन् ।

गठबन्धन टुट्ने कुरा ज्योतिषिहरूले भनेको बताउँदै उनले भने, ‘असार १७ पछि गठबन्धन टुट्ने कुरा मैले भनेको होइन, ज्योतिषिहरूलाई सोध्नुस् । उहाँहरुले प्रष्ट पारिदिनुहुन्छ ।’

यसअघि शनिबार पनि उनले विराटनगर महानगर कमिटीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनको आयु असार १७ पछि समाप्त हुने दावी गरेका थिए ।

उनले विराटनगरमा भनेका थिए, ‘प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाजी ज्योतिषीमा धेरै विश्वास गर्नुहुन्छ । त्यसैले जेठ र असारको महिना कस्तो छ, बोलाएर सोध्नु होस् । असार १७ गते कस्ता नक्षत्र र ग्रहहरु छन्, ज्योतिषीलाई बोलाएर हेर्नु होस् भनेको छु, बिचराहरुको सातो गएको छ होला ।’

चुनावी सभामा बोल्दै बारबार गठबन्धनको आयु असार १७ गते सकिने भनेर मिती तोक्न भ्याएका उनले यसको सन्दर्भबारे विस्तृतमा भने खुलाएनन् । साथै अध्यक्ष ओलीले वैशाख ३० गते नै गठबन्धनका लागि ‘सबैभन्दा ठूलो खड्को’ रहेको समेत बताए ।

‘राजनीति हेर्ने ज्योतिषि र ग्रहदशा हेर्ने ज्योतिषि छुट्टाछुट्टै हुन्छ्न् । राजनीति हेर्ने ज्योतिषिले भनेका कुरा हुन् । गठबन्धन रहन्छ रहँदैन भन्नेमा मेरो केही भन्नु छैन । गठबन्धनका लागि सबभन्दा ठूलो खड्को वैशाख ३० गते नै हो,’ ओलीले भने ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले ओलीको अभिव्यक्ति चुनावका बेला मतदाता प्रभावित पार्ने मनोबैज्ञानिक झटारो भएको प्रतिक्रिया दिए ।

‘एमाले अध्यक्ष ओलीले असार १७ पछि पाँच दलको गठबन्धन टुट्ने दाबी गर्दै आएका छन् । तर यो चुनावका बेलामा ओलीले हानेको मनोवैज्ञानिक झटारो मात्र हो । यो लक्ष्यमा पुग्दैन । यो गठबन्धन कायम रहन्छ,’ उनले भने ।