बाढीले यात्रुवाहक बस बगाउँदा १२ यात्रु घाइते

बाढीले यात्रुवाहक बस बगाउँदा १२ यात्रु घाइते


तुलसीपुर-  तुलसीपुर–घोराही सडकखण्डको ग्वार खोलामा आएको बाढीले यात्रुवाहक बस बगाउँदा १२ जना यात्रु घाइते भएका छन्।

धनगडीबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना ४ ख ८१३६ नम्बरको यात्रुबाहक बस गएराती साँझ खोलाले बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

घाइतेहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। घाइतेमध्ये दुई जना गम्भीर रहेको प्रहरीले जनाएको छ। लगातारको वर्षापछि स्थानीय खोलामा आएको बाढीले तुलसीपुर–लमही सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ।

प्रहरीका अनुसार तुलसीपुर–लमही सडकखण्डको बबई, कटुवा खोला, सेवार, गुर्जे, ग्वारखोला लगायतका खोलामा आएको बाढीले आइतबार दिउँसोदेखि यातायात प्रभावित भएको थियो।
साना सवारी साधन सबै ठप्प भएका छन् भने ठूला सवारी साधन भने फाटफुट सञ्चालन भएका छन्। खोलामा ठूला सवारी साधन जोखिम मोलेर सञ्चालन भए पनि साना सवारी साधनहरु चल्न सकेका छैनन्।