यात्रु चाप भएका स्थानमा नयाँ आकाशे पुल निर्माण गर्दै महानगरपालिका

यात्रु चाप भएका स्थानमा नयाँ आकाशे पुल निर्माण गर्दै महानगरपालिका


काठमाडौँ- काठमाडौँ महानगरपालिकाले चालू आवमा पैदलयात्रुको अत्यधिक चाप देखिएका आठ स्थानमा स्थानान्तरण गर्न सकिने नयाँ आकाशे पुल निर्माण गर्ने भएको छ ।

दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनसँगै पैदलयात्रुको सहजताका लागि ट्राफिक प्रहरी र सडक विभागको सहकार्यमा कामपाले ती स्थानमा नयाँ किसिमका पुल बनाउन लागेको हो । कामपाका भौतिक पूर्वाधार महाशाखाका प्रमुख इन्जिनीयर रामबहादुर थापाले भन्नुभयो, “दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन र पैदलयात्रुको सुरक्षा गर्न पुल बनाइनेछ ।”

टेकु भन्सार, त्रिपुरेश्वर, माइतीघर, बबरमहल काठमाडौँ जिल्ला अदालत, पुतलीसडक, महाराजगञ्ज, कोटेश्वर, गौशाला चोकमा पुल बनाइनेछ । सवारीसाधनको अत्यधिक चाप हुने सो क्षेत्रमा त्यस्तो पुलको अभावमा पैदलयात्रुलाई बाटो काट्न समस्या पर्र्दै आएको छ । पैदलयात्रुले जथाभावी बाटो काट्दा सवारी जामको अवस्था देखिँदै आएको छ ।

कामपाले चालू आव २०७५/७६ को लागि १३ अर्ब दुई करोड १२ लाख ३७ हजारको बजेट प्रस्तुत गरेको थियो । जसअन्तर्गत भौतिक पूर्वाधार निर्माण गर्न चालू आवमा रु चार अर्ब छ करोड बजेट विनियोजन गरिएको छ । सबैभन्दा बढी महानगरभित्रका सडक विस्तार र मर्मतमा खर्च गरिने छ ।

कामपाभित्र करीब एक हजार ४५० किलोमिटर पक्की सडक छ । कामपाले आठ मिटरभन्दा कम चौडाइका सडक मात्र मर्मत सम्भार गर्छ । कामपाभित्र आठ मिटरभन्दा कम चौडाइका सडक ९५० किलोमिटर छ । कामपाभित्र ६२ मिटर चौडाइका सडकसमेत छन् ।