भारतद्वारा सीमामा एकतर्फी रुपमा सडक निर्माण

भारतद्वारा सीमामा एकतर्फी रुपमा सडक निर्माण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भीमदत्तनगर –  कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव नजिक सीमाक्षेत्रमा भारतीय पक्षले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको छ ।

नेपाल–भारत सीमाक्षेत्रमा मुख्य सीमास्तम्भ नं ३ नजिक आफ्नो भूमि दाबी गर्दै भारतले पक्की सडक निर्माण गरिरहेको छ । भारतले टनकपुर ब्यारेजदेखि उत्तरतर्फको ब्रह्मदेव बजार छेउसम्म करीब एक हजार ३०० मिटर सडक निर्माण गर्न थालेपछि ब्रह्मदेवका बासिन्दाले विरोध गरेका छन् ।

भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथले भारतले नेपाली पक्षसित समन्वय नगरी करीब दुई सय मिटर वरसम्म नेपाली भूभागमा सडक बनाउन थालेको बताए । सीमास्तम्भ नं ३ हराएका कारण लामो समयदेखि त्यहाँ विवाद हुँदै आएको छ ।

केही समयअघि नेपाल–भारत संयुक्त सीमा सर्भे टिमले सो क्षेत्रको सर्भे गरेको थियो । सर्भेपछि टनकपुर तटबन्धको सिँढी ९टनकपुरदेखि एक हजार मिटर उत्तरतर्फ विद्युत्गृहमा बनाएको सिँढी लाई नेपाल–भारत सिमाना मानिँदै आएको थियो ।

उक्त सिमाना मानिएको क्षेत्रमा नै ३ नं सिमास्तम्भ पर्ने सर्भे टिमले निक्र्योल गरेको थियो । भारतले अहिले एकतर्फीरूपमा उक्त क्षेत्रमा सडक निर्माण गर्न थालेपछि विरोधमा उत्रिएको स्थानीयवासी गगनसिंह कार्कीले बताए ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कासहितको सुरक्षा निकायको टोलीले सडक निर्माणस्थलको अवलोकन गरेको थियो ।  भारतीय पक्षलाई काम रोक्न भने पनि भारतले सडक निर्माणलाई निरन्तरता दिएको छ । भारतले दुई महिनादेखि उक्त क्षेत्रमा ठेक्का प्रक्रियाबाट पक्की सडक निर्माण गरिरहेको छ ।