सिँक्टा नहरको छानविन गर्न उच्चस्तरीय कमिटि गठन

सिँक्टा नहरको छानविन गर्न उच्चस्तरीय कमिटि गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले सिँक्टामा गत साउन ७ गते भत्केको नहरको छानविन गर्न उच्चस्तरीय कमिटि गठन गरेका छन् ।

मन्त्री पुनले बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुशीलचन्द्र तिवारीको संयोजकत्वमा कमिति गठन गरेका हुन् । समितिमा मन्त्रालयका दुई र सिँचाइ विभागका दुई अधिकारी तोकिएको छ । साथै, एक स्वतन्त्र विज्ञसमेत सम्मिलित छन् ।

नहरको पूरा भएको खण्ड परीक्षण गर्न पानी छोड्दा भत्केको थियो । यसअघि पनि २०७३ असार १४ गते परीक्षणक्रममा सोही खण्ड भत्केको थियो ।

पटक–पटक नहरमा आउने समस्या र यसको समाधान गर्ने उद्देश्यले कमिटि गठन भएको तिवारीले बताए । ‘हिजोको कमिटिले सिफारिस गरेका काम कति भए वा भएनन्, माटो परीक्षणदेखि विज्ञका राय सुझावअनुसार काम गरिनेछ,’ उनले भने, ‘अब समस्या दोहोरिनु भएन भन्ने हो ।’

अहिले पनि २ वर्षअघि खण्ड भत्केको तिवारीले बताए । उनका अनुसार भत्केको खण्ड वास्तविकभन्दा फरक वा माटो बढी भरेको ठाउँ परेकाले बढी समस्या देखिएको हो ।

यहाँ प्राविधिकभन्दा बढी कमजोर माटोका कारण समस्या आएको उनको भनाइ छ । ‘माटो भरिएको ठाउँमा समस्या आउँछ भन्ने प्राविधिले अनुमान नगरिएको देखिन्छ वा यस्तो हुन्छ भन्ने अनुमान गरिएन,’ तिवारीले भने, ‘यी विषय डिजाइन गर्दा नै ध्यान पुर्याउनुपर्थ्यो ।’

२ वर्षअघि भत्केको ठाउँ निर्माण जिम्मा पाएको कालिका कन्स्ट्रक्सनले मर्मत गरेको थियो । अहिले उसले हस्तान्तरण गरिसकेको हुँदा आयोजनाकै दायित्वभित्र पर्ने बताउँदै आएको छ । तर, सम्झौता अनुसार काम हुने तिवारीले बताए ।

सम्झौतामा निर्माण पूरा भएपछि आयोजना हस्तान्तरण गरे पनि बढीमा एक वर्ष ठेकेदारकै दायित्वमा रहन्छ । आयोजनाले काम पूरा गरेको प्रमाणपत्र दिएपछिमात्र उसको काम सकिन्छ । तर, सिक्टामा ठेकेदारले एक वर्षअघि नै आयोजना हस्तान्तरण गरेको दाबी गरेको छ ।

ठेकेदारले हस्तान्तरण गरे पनि सम्झौतामा उसले गर्नुपर्ने काम बाँकी रहेको भए समय थपेर पनि गराउनुपर्ने तिवारीले बताए । ठेक्का अनुसार पूरा गरेको भए दबाब दिन सकिँदैन ।

राप्ती नदीमा बाँध निर्माण गरी बाँकेमा ४२ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ पुर्याउने उद्देश्यले आयोजना निर्माण भइरहेको छ । अहिलेसम्म मुख्य नहरको ३५ किलोमटिर काम पूरा भएको छ ।

आयोजनाका अनुसार अहिलेसम्म मुख्य नहरको करिब ५५ प्रतिशत काम पूरा भएको छ । सबै शाखा नहरहरू निर्माण भइरहेका छन्

https://www.kathmandupati.com/news/sikta/23341/