पूर्व तथा पश्चिममा साँझदेखि भारी वर्षा हुने, दर्जन नदीमा पानीको सतह बढ्ने

पूर्व तथा पश्चिममा साँझदेखि भारी वर्षा हुने, दर्जन नदीमा पानीको सतह बढ्ने


काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले शुक्रबार रातीदेखि शनिबारसम्म देशको पश्चिमी क्षेत्रमा ठूलो वर्षा हुने अनुमान गरेको छ । वर्षाले नदी तथा खोलामा पानीको सतह बढ्ने हुँदा किनारका बस्तीलाई सतर्क रहन आग्रह गरिएको छ ।

विभागका अनुसार शुक्रबारदेखि नदीको बहाब बढ्दै शनिबार साँझसम्म कुनैमा सतर्कता तह र कुनैमा खतरा नजिक पुग्ने सम्भावना छ । यस्तै, आइतबार मनहरी, रिउखोला, राप्ती, बाणगंगा, अरुण खोला लगायत नदीमा खतरा तह नजिक पुग्ने अनुमान छ ।

शनिबारदेखि आइतबारसम्म पूर्वतयारी तथा प्रतिकार्य गर्न विभागले सबैलाई आग्रह गरेको छ । शुक्रबार कन्काई, निन्दा, बिरिङ, खाडो, गागनलगायत नदीमा बाढी आउन सक्ने खतरा छ । यस क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन भनिएको छ ।

सप्तकोसी, महाकाली, कोसी, कर्णाली, बबई, तमोर, खिम्ती, तामाकोसी, पश्चिम सेती, चमेलिया लगायत पूर्व र पश्चिम चुरेबाट बग्ने नदीमा बाढीको खतरा बढ्दो क्रममा रहेको बताइएको छ । विभागले नदी नजिकै बसोबास गर्ने स्थानीलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।