काठमाण्डु – आइतबार सेयर बजार मापक परिसूचक नेप्सेमा हरियाली छाएको छ । साताको पहिलो कारोबारको दिन आज बजार मापक परिसूचक नेप्से ९५ अंकले बढेको हो । गत हप्ता झन्डै १ सय १० अंकले घटेर १८६२.०६ अंकमा झरेको बजार आज ९४.९२ अंक बढेर १९५६.९८ अंकमा उक्लिएको छ ।
बजार परिसूचकमा उल्लेख्य सुधार हुँदा कारोबार रकममा पनि सुधार देखिएको छ । आज नेप्से परिसूचक ९४.९२ अंक अर्थात ५.१० प्रतिशतले बढेको छ । ‘क’ वर्गका कम्पनीहरूको सूचक (सेन्सेटिभ इन्डेक्स) १७.९३ अंकले बढेर ३८२.८४ विन्दूमा उक्लिएको छ ।
आज २३० कम्पनीहरूको सेयर कारोबार हुँदा २ अर्ब १९ करोड ६१ लाख ४१ हजार ८ सय ४९ रूपैयाँ बराबरको कारोबार भएको छ । ४४ हजार ३ सय ४१ पटकको खरिदबिक्रीमा ६३ लाख ६३ हजार ५ सय ९० कित्ता सेयर किनबेच भएको थियो ।
उप–समूहतर्फ १३ ओटै समूहको सेयर मूल्य बढेको छ । जसमा बैंकिङ क्षेत्र २.६९ प्रतिशत, व्यापार ७.७९ प्रतिशत, होटेल तथा पर्यटन ५.७३ प्रतिशतले बढेका छन् । उल्लेख्य रूपमा बजार बढ्दा २३ ओटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । त्यस्तै आज सेयर मूल्य घट्नेमा अधिकांश म्यचुअल फण्ड रहेका छन् ।
बजेटपछि सेयर बजार लगातार घट्दो क्रममा थियो । यही असार १ गते लगानीकर्ता तिलक कोइराला आमरण अनशन बसेपछि झनै घटेको थियो । गएको शुक्रबार नेपाल धितोपत्र बोर्डसँग १९ बुँदे सहमति गर्दै कोइरालाले अनशन तोडेका थिए । त्यसपछि शुक्रबार नै दोहोरो अंकले बढेको नेप्से आज करिव ९५ अंकले उच्च वृद्धि भएको हो ।
प्रतिक्रिया