काठमाडौँ–तराई द्रुतमार्गमा क्षतिपूर्तिबापत ३८ लाख रुख रोप्नुपर्ने

काठमाडौँ–तराई द्रुतमार्गमा क्षतिपूर्तिबापत ३८ लाख रुख रोप्नुपर्ने


काठमाडौँ– राष्ट्रिय गौरवको महत्वपूर्ण आयोजना अन्तर्गतको काठमाडौँ–तराई मधेस द्रुतमार्ग निर्माणका लागि कूल एक लाख ५१ हजार ७८५ रुख कटान गरिनुपर्ने भएको छ ।

वन तथा वातावरण मन्त्रालयको वातावरणीय प्रभाव मूल्याङ्कन महाशाखा (इआइए) को प्रतिवेदनअनुसार काटिएका रुखको क्षतिपूर्तिका लागि र ३७ लाख ९४ हजार ६३५ नयाँ रुख रोप्नुपर्ने हुन्छ ।

कटान गरिने रुखको क्षतिपूर्ति भर्न खाली स्थानमा एक रुख बराबर २५ नयाँ विरुवा रोपिनुपर्ने कानूनी प्रावधान रहेको उक्त महाशाखाका उपसचिव ज्वाला श्रेष्ठले बताए ।

वि.सं २०७२ कात्तिक ८ गते स्वीकृत भएको उक्त प्रतिवेदन बमोजिम क्षतिपूर्तिस्वरुप रुख रोप्नुपर्दा निजी आयोजनाले रुख काटेको क्षेत्र बराबर जमीन किनेर रुख रोप्नुपर्छ भने सरकारी आयोजनाले सरकारले उपलब्ध गराएको सार्वजनिक खाली जमीनमा रुख रोप्नुपर्ने उपसचिव श्रेष्ठको भनाइ छ ।

आयोजनाअन्तर्गत चार लेनको ७६.२ किमी लामो (खोकना–निजगढ) सडक खण्डको निर्माण नेपाली सेनाले गरिरहेको छ । द्रुतमार्ग निर्माण गर्दा २८० हेक्टर क्षेत्रफलमा उक्त संख्याका रुख काट्नुपर्ने देखिए पनि हाल सेनाले सडकमा पर्ने अतिआवश्यक रुख मात्र कटान गरेको छ । सडकको अधिकार क्षेत्र १०० मिटर (सडकको दाँयाबाँया) अन्तर्गत पर्ने रुख भने काटिएको छैन् ।

सडक निर्माणका लागि अधिकांश भागमा १०० मिटर चौडाइको सडक सीमा क्षेत्र कायम हुनेछ । खेकना–निजगढ खण्डको कूल लम्बाइमध्ये वन क्षेत्र ४३ किमी छ ।रासस