अप्पर तामाकोसीको सेयर भर्ने अन्तिम समय भदौ १ गतेसम्म

अप्पर तामाकोसीको सेयर भर्ने अन्तिम समय भदौ १ गतेसम्म


काठमाडौं – अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीले काठमाडौंमा बसोबास गर्ने दोलखालीका लागि सेयर आवेदन दिने समय भदौ १ गतेसम्म समय तोकेको छ । काठमाडौं उपत्यकाबाट आवेदन दिने दोलखालीको चाप बढेपछि समय थप गरिएको हो ।

यसअघि काठमाडौंबाट आवेदन दिन गत शुक्रबार सम्मको अवधि तोकिएको थियो । अब काठमाडौंमा बसोबास गर्दै आएका दोलखालीले आगामी भदौ १ गतेसम्म तोकिएका केन्द्रबाट आवेदन दिनसक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार शुक्रबारसम्म लगानीकर्ताको चाप नघटेपछि स्थानीयबासी र जिल्ला समन्वय समिति दोलखाको आग्रहमा समय थप गरिएको हो । काठमाडौंमा सनराइज बैंकका ११ शाखाबाट आवेदन संकलन भइरहेको छ ।
गत साउन १६ गतेबाट निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा लगानी गर्न स्थानीयले उत्साहजनक सहभागिता जनाएका छन् ।
काठमाडौंसँगै जिल्लास्थित आवेदन संकलन केन्द्रमा लगानीकर्ताको भिड लागेको छ । स्थानीयका लागि कुल स्वपुँजी लगानीको १० प्रतिशत अर्थात १ अर्ब ५ करोड ९० लाख रुपैयाँ मूल्यको १ करोड ५ लाख ९० हजार कित्ता सेयर बिक्री खुल्ला गरिएको छ ।

जिल्लाबासीका लागि आवेदन दिन आगामी भदौ १४ गतेसम्मको अवधि तोकिएको छ । जिल्लामा सञ्चालित विभिन्न बैंकका २६ शाखामा सेयर आवेदन संकलन भइरहेको छ । बैंकका शाखा नभएका स्थानमा घुम्ती संकलन केन्द्र राखिएको छ । स्थानीयलाई आउजाउ गर्न कठिनाई हुने स्थानमा स्वयंसेवक गरिचालन गरी आवेदन संकलन गरिएको छ ।