काठमाण्डु – मोरङ, कालिकोट, चितवन र भोजपुरमा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । मोरङको बुढीगंगा गाउँपालिका–२ गंगाचोकमा एचआर ३८ एक्स २२१० नम्बरको कन्टेनरले को.३० प ९१०३ नम्बरको मोटरसाइकललाई शुक्रबार बिहान ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार दुई जना रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक केराबारी गाउँपालिका–७ बस्ने २७ वर्षीय हर्क परियार र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २१ वर्षीय भिम बहादुर राईको बिराट मेडिकल कलेज गङ्गाचोकमा उपचारको क्रममा मृत्यु भएको हो ।
कन्टेनर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कालिकोटको खाडाचक्र नगरपालिका–८ सिम्लेखोलास्थित सडकमा क.प्र.०२००१ ख २१० नम्बरको हाइस बिहीबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हाइसका सहचालक पचालझरना गाउँपालिका–५ बाँझकोट बस्ने २० वर्षीय तुफान बम रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल मान्ममा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका हाइस चालक समेत ११ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
चितवनको ईच्छाकामना गाउँपालिका–३ स्थित चुम्लिङटारमा ना.६ ख १३४० नम्बरको बस र लु.२ ख ३५०२ नम्बरको विङगर गाडी बिहीबार ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विङगरमा सवार हाल पहिचान नखुलेका अन्दाजी ३६ वर्षीय पुरुष रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका विङगर चालक समेत दुवै सवारी साधनमा सवार १८ जनालाई उपचारको लागि नयाँ र पुरानो मेडिकल कलेज भरतपुरतर्फ पठाइएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भोजपुरको भोजपुर नगरपालिका–१२ स्थित सडकमा मे.१ त ४७४४ नम्बरको ट्रयाक्टरको ठक्करबाट सोही ठाउँ बस्ने सुन्दर तामाङको छोरा ४ वर्षीय मेन्सन तामाङको बिहीबार साँझ घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया