बेलायतमा रहेका गोर्खा सैनिकलाई नेपाली नागरिकता दिने व्यवस्था गरौं : एमाले सांसद

बेलायतमा रहेका गोर्खा सैनिकलाई नेपाली नागरिकता दिने व्यवस्था गरौं : एमाले सांसद


काठमाण्डु – नेकपा एमालेका सांसद कृष्णप्रसाद दाहालले बेलायतमा रहेका नेपाली गोर्खा सैनिकलाई नेपाली नागरिकता दिनुपर्ने बताएका छन् ।

शुक्रवार प्रतिनिधिसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफाबार छलफलमा बोल्दै सांसद दाहालले बेलायतमा रहेका नेपाली गोर्खा सैनिकहरुलाई नेपाली नागरिकता दिने व्यवस्था मिलाईनुपर्ने बताए ।

उनले नेपाली महिलासँग विवाह गरी नेपालमै १५ वर्षसम्म बसोवास गरेका नेपाली महिलाका श्रीमानलाई पनि अंगिकृत नागरिकता दिनसक्ने प्रावधान राख्नुपर्ने बताए ।

संशोधन प्रस्ताव राख्दै उनले भने, ‘नेपाल र बेलायतबिच भएको सन्धि अनुसार गोर्खा सेनाहरुको हकमा माथि उल्लेखित दफाहरु लागू हुने छैनन्। उनीहरुलाई दुवै देशको नागरिकता प्राप्त गर्न सक्ने सुविधा हुनेछ ।

त्यस्तै उनले नेपाली महिलाले विवाह गरेर ल्याउने विदेशी पुरुषलाई अंगीकृत नागरिकता दिनुपर्ने बताए । उनले नेपाली पुरुषले विवाह गरेर ल्याउने महिलालाई नागरिकता दिने प्रावधान राख्दा नेपाली महिलाले विवाह गरेर ल्याउने पुरुषलाई पनि नागरिकता दिने प्रावधान राख्नुपर्ने बताएका हुन् ।

लैंगिक समानताको दृष्टिकोणले पनि नेपाली महिलाले विवाह गरेर ल्याउने विदेशी पुरुषलाई अंगीकृत नागरिकता दिनुपर्ने बताउँदै उनले बरु नागरिकता दिने समयावधि बढाउन सकिने बताए ।