काठमाण्डु – मेगा बैंक नेपाल लिमिटेड १२ बर्ष पूरा गरी १३ बर्षमा प्रवेश गरेको छ । १२ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले बैंकलाई देशकै अग्रणी बैंक बनाउन अहम भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।
शाहले कार्यक्रममा भने ‘आज भन्दा ठीक तेह्र बर्ष अगाडि १२ सय १९ जना संस्थापक शेयरधनीहरुको लगानीमा १४ जना संस्थापकहरु र ४ जनाको रणनीतिक समूहको अथक मेहनत र सहजीकरणमा मेगा बैंक नेपाल लिमिटेडको स्थापना भएको सन्दर्भ स्मरण गराउन चाहन्छु । ’
उनले लगानीकर्ताको विश्वास जित्दै सानो सानो पुँजीको लगानी र परिचालनबाट मेगा परियोजना सञ्चालन गर्न सकिन्छ भन्ने उदाहरण मेगा बैंक भएको बताए ।
‘उत्पादनमुलक, रोजगारीको सिर्जना गर्ने र आयातलाई प्रतिस्थापन गर्दै निर्यातको प्रबद्र्धन गर्ने उद्योग–व्यवसायलाई भरथेक गर्दा मात्र आत्मनिर्भर अर्थतन्त्रको निर्माण हुन सक्दछ । जुन आजको समय सन्दर्भमा सत्य प्रमाणित हुँदै गएका छन् । बैंकको संरचनालाई विकेन्द्रीत गर्दै क्षेत्रीय र जिल्ला–जिल्लामा विस्तार गर्न सकेमात्र आमजनताको बैंक समक्ष पहुँच स्थापित हुन्छ भन्ने हाम्रो अभियानले संघियताको कार्यान्वयन पछाडि नेपाल राष्ट्र बैंकले सो विषयलाई मौद्रिक नीति र निर्देशन जारी गरेपश्चात सार्थकता पाएको हो ।’ शाहले भने ।
उनले ३७ बर्षको इतिहास भएको नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जरको लागि एमओयू भइ सैद्दान्तिक सहमति प्राप्त भइसकेको जानकारी समेत दिए । मेगा बैंककी कायममुकायम सिइओ रविना देशराज श्रेष्ठले वित्तीय बजारमा मेगा बैंक एक प्रतिष्ठित, अब्बल तथा जनप्रिय बैंकको रुपमा स्थापित भएको बताईन ।
‘संस्थापकहरुको सोच र भिजनका कारण मेगा बैंक आज देशकै विश्वाशिलो र अग्रणी बैंकको रुपमा स्थापित भएको छ । बैंकको संचालन सुव्यवस्थित किसिमले परिलक्षित बाटोमा आधार शिविरहरु खडा गर्दै गन्तव्यको उचाई तर्फ अग्रसर भएको छ । स्थापनाको १२ बर्ष पूरा गरी १३ बर्ष प्रवेश गरिरहँदा संस्थापकज्यूहरु सँगसँगै यस बैंकका लागि कर्मचारीवर्ग, ग्राहकवर्ग र सरोकारवाला सम्बद्ध सबैको निकै ठूलो योगदान रहेको छ । हलोदेखि हाइड्रोसम्म भन्ने नाराका साथ यो बैंकको यात्रा अगाडि बढेको थियो । आजसम्म आइपुग्दा थुप्रै वित्तीय सूचकहरुमा यो बैंकको अवस्था उत्साहमुलक देखिएको छ ।’ उनले भनिन् ।
कामु सिइओ श्रेष्ठले दिगो विकासका साथ नयाँ प्रविधिसहित अघि बढ्दै मेगा बैंकलाई आधुनिक प्रविधिमैत्री ‘डिजिटलाइज्ड बैंक’ बनाइएको बताईन ।
ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकको बितेको १२ बर्षमा पुँजी, व्यवसायको आकार र शाखा सञ्जालमा बृहत वृद्धि भएको छ । देशको २८ औं बाणिज्य बैंकका रुपमा स्थापना भएको मेगा बैंक चुक्ता पुँजीका हिसाबले ७ औं स्थानमा छ । २०७९ असार मसान्तसम्ममा मेगा बैंकको कुल निक्षेप करिब १ खर्ब ५६ अर्ब र कुल कर्जा करिब १ खर्ब ५० अर्ब रहेको छ ।
मेगा बैंकले १८ सय भन्दा बढी कर्मचारीबाट देशभरका ६१ जिल्लामा फैलिएका २ सय ८ शाखा सञ्जाल, १ सय ४५ वटा एटीएम, २५ वटा एक्टेन्शन काउन्टर र ६० वटा शाखारहित बैंकिङ सेवामार्फत १४ लाख ७५ हजार भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।
समता अस्पताललाई पाँच लाख सहयोग
मेगा बैंक नेपाल लिमिटेडले १२औं बार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत काठमाडौंको बौद्धस्थित समता सामुदायिक अस्पताललाई पाँच लाख रुपैंया सहयोग गरेको छ । मेगा बैंकका अध्यक्ष शाहले समता अस्पतालका अध्यक्ष उत्तर सञ्जेललाई पाँच लाख रुपैंयाको चेक हस्तान्तरण गरे ।
एक सय रुपैंयामा सर्वसाधारणको उपचार गराउँदै आएको यस अस्पतालबाट न्यून आय भएका सर्वसाधारणको उपचारमा मद्दत मिलोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको मेगा बैंकले जनाएको छ ।
प्रतिक्रिया