निर्मला हत्या काण्डको चार वर्षः कहिले पक्राउ पर्लान् अभियुक्त ?

निर्मला हत्या काण्डको चार वर्षः कहिले पक्राउ पर्लान् अभियुक्त ?


काठमाण्डु- कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछि हत्या भएको मंगलबार चार वर्ष पुगेको छ । हत्या भएको चार वर्षसम्म पनि प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन् ।

२०७५ साउन १० गते कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा साथीको घरबाट हराएकी किशोरी पन्तको मृत शरीर भोलिपल्ट स्थानीय उखुबारीमा फेला परेको थियो ।

हत्याकाण्डको अनुसन्धानका लागि १ सय ७ जनाको डीएनए परीक्षण भइसकेको छ भने अहिलेसम्म ६ सय ३५ जनालाई सोधपुछ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक श्याम चौधरीले घटनाको नयाँ कोणबाट अनुसन्धान भइरहेको बताएका छन् । अहिले पनि त्यस क्षेत्रका १८ १९ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीले धेरै साधन स्रोत र जनशक्ति खर्च गरेर निरन्तर चार वर्षसम्म यसरी अनुसन्धान गरेको यो पहिलो घटना भएको प्रहरी अधिकारीहरु बताउँछन् ।

प्रहरीले पनि घटनाको अनुसन्धानका लागि थुप्रै छानबिन समिति बनायो । विभिन्न ढंगबाट अनुसन्धान गर्दा पनि प्रहरी अहिलेसम्म कुनै ठोस निष्कर्षमा पुग्न सकेको छैन । प्रहरीले नयाँ कोणबाट अनुसन्धान थालिएको बताउँदै आएको छ।