काठमाण्डु – असार महिना लागे यता सिसडोलकोे फोहरको पहाडबाट लेदोसहित पहिरो खस्दा फोहर बोक्ने सवारीसाधन जाने सडक अवरुद्ध भइरहेको छ ।
नुवाकोट र धादिङको सीमामा पर्ने बञ्चरेडाँडामा निर्माण भएको अत्याधुनिक फोहरमैला व्यवस्थापन केन्द्र (ल्याण्ड फिल्ड साइट) सम्म फोहर लैजानका लागि यसअघि फोहर विसर्जन गरिँदै आइएको साइट सिसडोलको बाटो भएरै जानुपर्छ । गत जेठ महिनाबाट उपत्यकाको फोहर सिसडोलबाट दुई किलोमिटर टाढा पर्ने बञ्चरेडाँडामा विसर्जन हुँदै आएको छ ।
बञ्चरेडाँडामा केन्द्रमा फोहर विसर्जन गर्न थाल्दा काठमाण्डु उपत्यकावासीमा फोहरको समस्या स्थायी समाधान हुने आशा पलाएको थियो । अघिल्ला वर्षहरुमा सिसडोल भरिएर नियमित रुपमा फोहर नउठेकाले नयाँ केन्द्रमा नियमित उठ्ने धेरैले अपेक्षा गरेका थिए । तर सिसडोलको फोहरमैलाको पहाडले नै नयाँ केन्द्रसम्म फोहर लैजान अवरोध सिर्जना गरिरहेको छ ।
सडकको खराब अवस्था र पटक पटक विभिन्न माग राख्दै हुने स्थानीयवासीको आन्दोलनका कारण काठमाण्डुको फोहर नियमित नउठेको पाइन्छ । अहिले पनि गाडीले धुलो उडायो र फोहरबाट दुर्गन्ध आयो भनी स्थानीयवासीले दैनिक चार,पाँच घण्टा अवरोध गरिरहेको काठमाडौँ महानगरपालिका, वातावरण विभागकी प्रमुख सरिता राईले बताइन् ।
उपत्यकाबाट फोहर तारकेश्वर नगरपालिका, ककनी नगरपालिका र धुनीबेसी नगरपालिका हुँदै बञ्चरेडाँडा जानुपर्छ । खासगरी त्रिशुली-बालाजु सडकको निर्माण आठ वर्ष पहिले सुरु भएर पनि अझै अलपत्र भएकाले यसको निर्माण चाँडो सक्न भन्दै पटक पटक आन्दोलन भइरहेको छ ।
दुई प्याकेजमा निर्माण अघि बढाइएकामा दुवै खण्डमा ठेक्का तोडिइसकिएको सडक विभागले जनाएको छ । एउटा ठेक्कामा अदालतबाट अन्तिम निणर्य आइसकेकाले नयाँ ठेक्कामा जान सकिने भए पनि अर्को ठेक्काको मुद्दामा अदालतले अन्तरिम आदेश दिएको थियो । सडक चाँडो बनाउन माग गर्दै पटक पटक आन्दोलन हुँदा फोहरको गाडी रोकिने गरेको छ ।
तिनपिप्लेबाट सिसडोल हुँदै बञ्चरेडाँडासम्मको सडकको मर्मतको काम शहरी विकास तथा भवन निर्माण विभागलाई जिम्मेवारी दिइएको थियो । विभागले केही समय पहिले मात्रै ठेक्का लगाएर अहिले काम भइरहेको छ । विभागले जिम्मेवारीमा तीनपिप्लेबाट सिसडोसम्म छ किमी र सिसडोलबाट तीन किमी सडक रहेको छ । सिसडोलको फोहरभन्दा उता सडक राम्रो अवस्थामा रहेको प्रमुख राईले बताइन् ।
सिसडोडमा दुई सय मिटर सडकमा समस्या रहेको छ । अहिले फोहरमाथि ग्याबिन वाल बनाएर सवारीसाधन जान सकिने गरी सडक बनाउन लागिएको हो । वर्षाको समयमा सडक हिलोले भासिने समस्या रहेको उनले बताए । उनले भनिन्, “सडक साँघुरो छ । फोहरको डङ्गुर माथि लैजानुपर्छ ।”
नयाँ केन्द्रमा फोहर लैजानका लागि पनि सोही सडक समस्याका रुपमा रहेको छ । हाल प्रयोग भइरहेको सडक बनाइने र वैकल्पिक बाटोको बारेमा पनि कुराकानी भइरहेको प्रमुख राईले बताइन् । पहिले निर्माण गर्दा यो सडक पनि बस्तीभन्दा बाहिर बनाइएको भए पनि बाटो बनेपछि बस्ती आएको उनले बताए । उनले भनिन्, “फोहर लैजानकै लागि छुट्टै बनाइएको सडक भए पनि सडक छेउछाउ व्यापार व्यवसाय गर्न पनि बस्ती बढ्नु स्वभाविक हो ।”
कहिले स्थानीयवासीको अवरोधका कारण त कहिले सडक मर्मत भइरहँदा फोहर नियमित जान सकिरहेको छैन । दैनिक चार,पाँच घण्टा रोकिँदा पनि काठमाडौँमा फोहर प्रभावित हुने र समस्या बढ्ने उनले बताए । उपत्यकाबाट शनिबार २४३ ट्रक, शुक्रबार १७० ट्रक र बिहिबार २४० ट्रक फोहर बञ्चरेडाँडा लगिएको थियो । उहाँले भन्नुभयो, “बञ्चरेडाँडासम्म पुग्न धेरै अवरोध पार गर्दै जानुपर्छ ।”
स्थानीयवासीको समस्या सम्बोधनका लागि महानगरपालिकाले दैनिक रुपमा ट्याङ्करबाट सडकमा पानी हाल्दै आएको छ । पानी परेको दिनमा पानी हालिरहेको उनले बताइन् । सिसडोलमा फोहर विसर्जन गर्दादेखि नै वर्षाको समयमा उपत्यकामा फोहरको समस्या बढ्ने गरेको हो । – रासस
प्रतिक्रिया