काठमाण्डु – नर्भिक अस्पतालले सरकारी जग्गामा अनधिकृत रुपमा संरचना निर्माण गरको पाइएको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले सरकारी जग्गा अतिक्रमण गरेर अनधिकृतरुपमा संरचना निर्माण गरेको पुष्टि भएको हो ।
नर्भिक अस्पतालले सरकारी जग्गा अतिक्रमण गरेर एक रोपनी आठ आना जग्गामा सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको खुलासा भएको छ ।
व्यवसायी बसन्त चौधरीको लगानी रहेको नर्भिक अस्पतालले अनधिकृत रुपमा जग्गा हत्याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत भूमि,व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्र काटेको थियो । तर, पनि चौधरी त्यसमा शक्तिको बलमा अटेरी गर्दै आएका छन् ।
काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह नर्भिक अस्पतालले नियम मिचेको थाहा पाउने वित्तिकै एक्सनमा उत्रेका छन् । उनले सरकारी जग्गामा निर्माण गरेको संरचना तत्काल भत्काउन निर्देशन दिएका छन् ।
शाहले सो निर्देशन दिए सँगै निर्भिक अस्पतालले सरकारी जग्गा अतिक्रमण गरेर अनधिकृतरुपमा संरचना निर्माण गरेको पुष्टि भएको हो । काठमाण्डौंको मुटुमा रहेको उक्त जग्गा चौधरीले पैसा र शक्तिको बलमा मनपरी गर्दै आएका थिए ।
सोमबार मेयर शाहको निर्देशनपछि महानगरपालिकाको शहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यले सुचना जारी गर्दै नर्भिक अस्पतालले अतिक्रमण गरेको एक रोपनी आठ आना जग्गामा सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको भन्दै ती संरचना २४ घण्टाभित्र हटाउन निर्देशन दिएका छन् ।
मेयर शाहले घर टहरा हटाउन अस्पताललाई निर्देशन दिँदै नहटाए नियमअनुसार कारबाही गर्ने चेतावनी दिएका हुन् । सरकारी जग्गा प्राप्त गर्न मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने नियम भए पनि व्यवसायी वसन्त चौधरीको उक्त अस्पतालले भने दुई दशकदेखि उक्त जग्गामा गैरकानुनी रुपमा संरचना बनाएर उपयोग गर्दै आएको थियो ।
चौधरीको लगानी रहेको उक्त अस्पतालले भूमिसुधार मन्त्रालयका कर्मचारीहरुको मिलेमतोमा कौडीको भाउमा भाडामा लिएको बुझिएको छ । भूमिसुधार अधिकारी लुम्बप्रसाद शिवकोटीसंगको मिलेमतोमा भाडा सम्झौता भएको स्रोत बताउंछ ।
उक्त जग्गाको भाडा वार्षिक ३७ हजार ९ सय ८९ रुपैया नर्भिकले तिर्ने गरी सम्झौता भएको छ । उनले २० वर्षदेखि अनधिकृत रुपमा डेढ रोपनी जग्गामा रजाई गर्दै आएका छन् । नर्भिकको तर्फबाट उक्त सम्झौंतामा वरिष्ठ प्रवन्धक मोहन प्रसाद खनालले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया