काठमाण्डु – दुई पटक स्थगित भइसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक भोलि (बिहीबार) हुँदैछ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा बस्ने बैठक १० बजे सुरु हुनेछ । यसअघि समेत बैठक दुई पटक बोलाएर बस्न सकेको छैन । २ साउनमा बोलाइएको बैठकमा अध्यक्ष पंकजविक्रम नेम्बाङ अस्वस्थ भएपछि स्थगित गरिएको थियो ।
यस्तै, ५ साउनमा बसेको बैठक पनि स्थगित भएकाे थियाे । पछिल्लो समय पदाधिकारी भागबन्डा नमिल्दा बैठक स्थगित हुँदै आएको छ ।
६ असारमा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका नेम्बाङ आफ्नो चुनावी अभियानमा सहयोग गरेका साथीहरूलाई खुसी राख्न असफल भएका छन् ।
चुनावमा सहयोग गरेका पूर्वअध्यक्ष गणेश थापा र जर्मन नागरिक नविन पाँडेबीच बढ्दै गएको असन्तुष्टिका कारण पंकज चेपुवामा परेका छन् । पाँडेबाट बढी दबाब खेप्दै आएपछि नेम्बाङले थापा समूहलाई बेवास्ता गर्दै आएका छन् । पाँडे एन्फा राजनीतिमा हावी भएसँगै कार्यसमितिमा बहुमत भएको थापा पक्षले पाँडेको बर्खास्तीको माग गरेको छ ।
जसका कारण १९ मध्ये १३ सदस्यले हस्ताक्षर गर्दै अन्तरराष्ट्रिय विभाग प्रमुख पाँडेको बर्खास्ती माग गरेका छन् । भोलिको बैठकमा सबैको ध्यान यसैमा हुनेछ । यस्तै, प्रवक्ता सहित तीन सहमहासचिव, मनार्थ अध्यक्षको नियुक्त हुनेछ । यस्तै, महिला साफ आयोजना समेत मुख्य विषय रहेको छ ।
भोलि हुने बैठकमा २२ एजेन्डा रहेका छन् ।
प्रतिक्रिया