काठमाण्डु- सरकारले मिटरब्याजको समस्यालाई नियन्त्रण गर्न कार्यदल गठन गरेको छ । तराईका जिल्लामा मिटरब्याज लगाएर अपराध गरिरहेको गुनासो आएपछी गृहमन्त्री बालकृष्ण खांडले मन्त्रीस्तरीय निर्णय गर्दै कार्यदल गठन गरेका हुन् । गृहमन्त्रालयका सहसचिव भीष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको हो । कार्यदललाई एक महिनाभित्र प्रतिवेदन पेश गर्न कार्यदेश दिइएको छ ।
कार्यदलमा नेपाल प्रहरीका केन्द्रीय अनसुन्धान ब्युरोमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा सदस्य रहेका छन् । कार्यदलको सदस्य सचिवको जिम्मेवारी भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत नायव उपरीक्षक रोशन खड्कालाई दिइएको छ ।
मिटरब्याजको समस्याले धेरै परिवारको बिचल्ली परेको गुनासो आएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले समस्या समाधानका लागि निर्देशन दिएका थिए ।
प्रधानमन्त्री देउवाले गृहमन्त्री खांड, प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई बोलाएर अपराधीलाई कानुनको दायरामा ल्याउन भनेका थिए । प्रधानमन्त्रीको निर्देशनपछि गृहले कार्यदल गठन गरेको हो ।
उक्त कार्यदलले समस्या समाधानका उपायसहित अपराधमा संलग्न व्यक्तिलाई कानुनको दायरमा ल्याउने र भविष्यमा समेत अपराध न्यूनीकरण गर्ने उपायका बारेमा प्रतिवेदन पेश गर्नेछ ।
प्रतिक्रिया