सिलवाललाई थुन्न आईजीपीको आदेश,पांच पत्रकारको पनि बयान लिईने

सिलवाललाई थुन्न आईजीपीको आदेश,पांच पत्रकारको पनि बयान लिईने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालले ललितपुर–१ बाट निर्वाचित सांसद तथा पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजीपी) नवराज सिलवालसहित उनलाई साथ दिने पाँच पत्रकारलाई थुन्न आदेश दिएका छन् ।

 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रवीन्द्र धानुक र मुद्दा फाँटका प्रहरी नायव उपरीक्षक (डिएसपी) बेलप्रसाद पाण्डेलाई प्रहरी प्रधान कार्यालय बोलाएर विनाअनुसन्धान सिलवालसहित पाँच पत्रकारलाई थुन्न आदेश दिएका हुन् ।

 

‘सिलवालविरुद्ध जाहेरी दर्ता भइसक्यो, अब अनुसन्धान किन गर्नुप¥यो ? तुरुन्त त्यस (सिलवाल) लाई समातेर थुन्नु, अनुसन्धान पछि गर्दा हुन्छ,’ काठमाडौंका एसएसपी धानुक र डिएसपी पाण्डेलाई आइजिपी अर्यालको निर्देशन उद्धृत गर्दै प्रहरी प्रधान कार्यालयका एक अधिकृतले भने ।

 

उनका अनुसार सरकार गठनअघि, जसरी पनि सिलवाललाई थुन्नुपर्ने निष्कर्ष आइजिपी अर्यालले सुनाएका छन् । ‘अब एमाले–माओवादीको सरकार बन्छ, त्यो बन्नुअघि नै थुन्नुपर्छ, अनुसन्धान गर्दा समय घर्किन्छ, थुनिहाल्नु भन्ने आईजीपीको निर्देशन थियो,’ प्रहरी प्रधान कार्यालयका एक डीआईजीले भने ।

 

आईजीपी अर्यालले सिलवाललाई सहयोग गरेको भन्दै पत्रकार रवि धामी, रोशन खड्का, मदनबाबु भण्डारी, खिलानाथ ढकाल र रोशन पाण्डेलाई पनि पक्राउ गरी थुनामा राख्न काठमाडौं प्रहरीलाई निर्देशन दिएका छन् । ‘सिलवालको सहयोगी हुन्, तिनीहरूलाई थुन्नु, जेमा फसाउन सकिन्छ, त्यही सोच्नु,’ आइजिपी अर्यालको निर्देशन थियो ।

 

काठमाडौंका एसएसपी धानुकले भने आफू आदेश पालना गर्न नसक्ने जवाफ अर्याललाई फर्काएका छन् । सिलवालविरुद्ध किटानी जाहेरी नपरेको, अनुसन्धानको क्रममा उनी नै दोषी हुन् भन्ने तथ्य पनि फेला नपरेको कारण कानुन बाहिर गएर आदेश पालना गर्न नसकिने जवाफ धानुकले दिएको अर्का डीआईजीले बताए ।

 

 

उनका अनुसार धानुकले अनुसन्धान गर्दा पूर्वआईजीपीलाई समेत पत्र काटनुपर्ने, बयानमा बोलाउनुपर्ने भन्दै सिलवाललाई मात्रै विनाअनुसन्धान र विनाप्रमाण पक्राउ गर्न नसकिने जनाएका हुन् ।

 

 

‘म सिलवाललाई समात्न सक्दिनँ, कानुनबाहिर गएर काम गर्न सकिन्न हजुर, बरु मलाई कारबाही गर्नाेस, अन्यत्र सरुवा गरिदिनोस,’ आईजीपी अर्यालसँग एसएसपी धानुकको भनाइ उद्धृत गर्दै ती डीआईजीले भने, ‘अनुसन्धानबाट खुल्यो भने समाउन सकिन्छ, भाग्ने मान्छे होइनन्, तर यो अनुसन्धानमा संगठनकै प्रमुख रहेका पूर्वआइजी सापलाई पनि बयानमा बोलाउनुपर्ने हुन्छ, अब कसरी एकै पटक पक्राउ गर्ने ?’

 

आईजीपी अर्यालले भने कतै अनुसन्धान नगर्न र सिलवाललाई नै पक्राउ गरेर किर्ते गरेको हो भन्ने स्वीकार गरेको भन्न निर्देशन दिएका थिए । प्रधान कार्यालय स्रोतका अनुसार आइजिपी अर्याल र सचिवालयमै कार्यरत डिएसपी सवीन प्रधानले पाँचै जना पत्रकारको गत फागुनदेखि अहिलेसम्मको कल डिटेल तत्काल पठाउन काठमाडौं प्रहरीलाई निर्देशनसमेत दिएका छन् ।

 

आईजीपी अर्याल सिलवालकै ब्याजी हुन् । पहिलो वरीयतामा रहेर कार्यसम्पादनमा पनि सबैभन्दा उत्कृष्ट रहेका सिलवाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले आइजिपी बन्न दिएका थिएनन् ।

 

तत्कालीन डीआईजी सिलवालकै मुद्दापछि सर्वाेच्चको आदेशमा अर्याल आईजीपी बनेका हुन् । आफूभन्दा पछिल्लो वरीयतामा रहेका जयबहादुर चन्दलाई आईजीपी नियुक्त गरेको भन्दै सिलवाल अदालत गएका थिए ।

 

उनको मुद्दामा सरकारले कार्य सम्पादन मूल्यांकनमा चन्द तेस्रो वरीयतामा रहेको भन्दै सच्याउन आदेश दिएपछि तात्कालीन प्रहरी प्रमुख, गृह सचिव र मानव स्रोतका प्रहरी अतिरिक्त महानिरीक्षकको मिलेमतोमा अर्याललाई पहिलो बनाइएको थियो ।

 

केन्द्रीय अनुसन्धान ब्युरोमा रहँदा ३६ किलो सुन काण्डमा मुछिएका अर्याल कहिल्यै सिलवालभन्दा कार्यसम्पादन मूल्यांकनमा अघि आउन सकेका थिएनन् । तालिममा पनि उनी सिलवाल र चन्दभन्दा निकै पछि रहेका थिए । आजको सौर्य दैनिकमा समाचार छ ।