प्रचण्डलाई निर्वाचन आयोगको आग्रह : चुनावमा १० करोड खर्च गर्ने व्यक्तिबारे जानकारी गराइदिनुस्

प्रचण्डलाई निर्वाचन आयोगको आग्रह : चुनावमा १० करोड खर्च गर्ने व्यक्तिबारे जानकारी गराइदिनुस्


काठमाण्डु – निर्वाचन आयोगले सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुनाव जित्न १० करोड खर्च गर्नेबारे जानकारी गराइदिन आग्रह गरेको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रचण्डले गाउँपालिका अध्यक्षको चुनाव जित्न उम्मेदवारले १० करोड रुपैयाँ खर्च गरेको भनी सार्वजनिक अभिव्यक्ति दिएको आयोगको जानकारीमा पुगेपछि ती व्यक्तिबारे जानकारी गराउन आग्रह गरिएको हो ।

‘चुनाव जित्न १० करोड खर्च गर्ने व्यक्तिबारे जानकारी गराइदिनुस् भनेका हौं,’ प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने । उनका अनुसार केही दिन अगाडि प्रचण्डलाई यस्तो आग्रह गरेर पत्र पठाइएको छ ।

पत्रको जवाफ आयोगले पाएको छैन । चुनाव खर्च गर्न पाउने सीमा तय भएकाले त्यस भन्दा तलमाथि भए जो कोहीले आयोगलाई जानकारी दिन सक्ने पनि प्रवक्ता शर्माले बताए ।

आयोगको पत्रमा भनिएको छ, ‘देशको पूर्वप्रधानमन्त्री, सत्तारुढ दलका अध्यक्ष, प्रतिनिधिसभा सदस्य तथा जिम्मेवार दलको नेताले दिएको अभिव्यक्तिलाई आयोगले गम्भीरताका साथ लिई प्रमाणका रूपमा प्रयोग गर्न सक्ने हुन्छ ।’ आयोगले तोकिएको हदभन्दा बढी खर्च गर्ने तथा खर्चविवरण नबुझाउने उम्मेदवारमाथि कारबाही प्रक्रिया सुरु गरिएको पनि उक्त पत्रमा उल्लेख गरेको छ ।