प्रहरीको किर्ते प्रकरणमा सञ्चारमाध्यमसंग मागिएको स्पष्टीकरणको सर्वत्र विरोध

प्रहरीको किर्ते प्रकरणमा सञ्चारमाध्यमसंग मागिएको स्पष्टीकरणको सर्वत्र विरोध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रेस चौतारी नेपालले नेपाल प्रहरीले पांच सञ्चारमाध्यम र त्यसका सम्पादकहरुलाई काटेको पत्रप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

 

 

प्रेस चौतारीले प्रेस विज्ञप्ति आइतबार जारी गर्दै ललितपुर–१ बाट निर्वाचित सांसद तथा पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवालविरुद्धको मुद्दा छानबिन गर्ने नाममा सञ्चारमाध्यमहरुलाई आदेशको शैलीमा काटिएको पत्रले आश्चर्यचकित बनाएको उल्लेख गरेको छ ।

 

विज्ञप्तिमा भनिएको छ, ‘महानगरीय प्रहरी परिसर काठमाडौंले रोशन खड्का (काठमाडौंपाटी डटकम), रवि धामी (मुलधारन्युज डटकम)  मदनबाबु भण्डारी (सुशासनन्युज डटकमरसुशासनन्युज साप्ताहिक), खिलानाथ ढकाल (शुभदिन डटकम) र रोशन पाण्डे (जनप्रहार साप्ताहिकरअपराध खबर डटकम)लाई सिलवालसंग सम्बन्धित समाचारको स्रोत माग्दै पत्रचार गरेको छ ।

 

 

यसको साथै प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालले काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रवीन्द्र धानुक र मुद्दा शाखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) बेलबहादुर पाण्डेलाई पाँचै जना पत्रकारहरुको पछिल्लो एक वर्षको ‘कल डिटेल’ लिन निर्देशन समेत दिएका छन् ।’

 

प्रकाशित समाचारको स्रोत दिन आदेशसहित पत्र लेखिनु र पत्रकारको ‘कल डिटेल’ मागिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धको नांगो हस्तक्षेप मात्रै नभई यो राज्य आतंकसमेत भएको चौतारीको ठहर छ ।

 

 ‘नेपाल प्रेस काउन्सिलको अधिकार क्षेत्रभित्र रहेको विषयलाई नेपाल प्रहरीले हस्तक्षेप गरी संवैधानिक र कानुनी व्यवस्थाको समेत धज्जी उठाएको छ । नेपाल प्रहरीको यो कदमप्रति प्रेस चौतारी खेद व्यक्त गर्दै भत्र्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संवैैधानिक व्यवस्थाविरोधी यो कदम तत्काल सच्चाउन सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउदछौं ।’

 

 

 साथै पत्रकारलाई स्वतन्त्र र भयरहित पत्रकारिता गर्ने वातावरण निर्माण गर्न सम्बन्धित सबै पक्षसँग प्रेस चौतारीले माग गरेको छ ।

 

त्यसैगरी नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष शिव गाउलेले पनि उक्त घटनाको विरोध गरेका छन् । गाउलेले टिवटरमा लेखेका छन् – समाचार कसले दिएको हो भनेर बिशेष अवस्थामा सम्पादकलाई समेत बताउनु जरुरी ठानिदैन । नेपाल प्रहरीले कहांबाट पायो ‘समाचार स्रोत खुलाई सहयोग गर्ने सम्बन्धमा’ पत्राचार गर्ने अधिकार ?