काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग प्रस्तावमाथि सिफारिस समितिको काम एक महिनामा सक्न प्रस्ताव गरेको छ ।
बुधबार बसेको महाअभियोग सिफारिस समितिको पहिलो बैठकमा नेकपा एमालेले जबरामाथिको महाअभियोग प्रस्तावमाथि सिफारिस समितिको काम एक महिनामा सक्न प्रस्ताव गरेको हो ।
५ महिनासम्म त्यसै अड्किएको महाअभियोग प्रस्ताव बल्ल समितिमा आएकाले छिट्टै काम सक्नुपर्ने एमाले सांसद कृष्णभक्त पोखरेलले बताए । ‘के के काम कति कति समयमा गर्ने भनेर कार्यतालिका तय गरौं, तीन महिना भनेको ठाउँमा एक महिनासम्म गर्न सक्दा राम्रो हुन्छ’, पोखरेलले भने ।
प्रतिनिधिसभाले २३ फागुनमा छानबिनका लागि महाभियोग प्रस्ताव समितिमा गठन गरे पनि बैठक भने अझै बस्ने सकेको थिएन । प्रतिनिधिसभाले सो बारेमा लामो समय पछि समितिलाई अध्ययन गरी सिफारिस गर्नका लागि अनुमति दिएपछि पहिलो बैठक आज बसेको हो ।
समितिमा रामबहादुर विष्ट, मीनबहादुर विश्वकर्मा, एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, यशोदा गुरुङ सुवेदी, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा. शिवमाया तुम्बाहाङ्फे सदस्य छन् ।
जबराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरूले गत १ फागुनमा प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए ।
प्रतिक्रिया