निरन्तर ओरालोतिर सेयर बजार

निरन्तर ओरालोतिर सेयर बजार


काठमाण्डु- सेयर कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेको छ । आज नेप्से परिसूचक ०.३६ अंकले ओरालो लागेर २०४०.७० विन्दुमा कायम भएको छ । सेन्सेटिभ इण्डेक्स भने ०.२८ प्रतिशतले उकालो लागेको छ ।

कारोबारमा आएका १३ समूहमध्ये ७ को सूचक उकालो लाग्यो भने ६ को ओरालो लागेको छ । आज डेभलपमेन्ट बैंक, हाइड्रो पावर, फाइनान्स, नन लाइफ इन्स्योरेन्स, मनु एन्ड प्रो, माइक्रो फाइनान्स र म्युचुल फन्डको सूचक उकालो लागेको हो ।

मंगलबारको तुलनामा आज सेयर कारोबार ओरालो लागेको छ । आज २२२० कम्पनीको ३४ लाख ९७ हजार ८८१ कित्ता सेयर १ अर्ब ४० करोड ५९ लाख ७४ हजार २५६ मा खरिदबिक्री भएको छ । मंगलबार २ अर्ब ७३ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

स्वेत गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनको १० प्रतिशत, अपर हेवाखोला हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको ९.९९ प्रतिशत, सपोर्ट लघुवित्त वित्तीय र अपर सोलु हाइड्रो इलेक्ट्रिकको ९।९८ प्रतिशतले सेयर मूल्य उकालो लागेको छ ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार नेप्से परिसूचक २४.८३ अंक ओरालो लागेर २०४१.८३ विन्दुमा बन्द भएको थियो ।