काठमाण्डु – नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशी मुद्रा संचितिमा देखिएको समस्या समाधान गर्न कृषि उत्पादनको निर्यात बढाउनुपर्ने बताएका छन् ।
नेपाल कुचो संघको प्रथप वार्षिक साधारणसभा तथा अधिवेशनलाई शनिबार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले अहिले मुलुकमा देखिएको विदेशी मुद्रा संचितिको समस्या समाधान गर्न कृृषि उपजको उत्पादन तथा निर्यात बढाउनुपर्ने बताए ।
“कृषि उपजहरुको उत्पादन तथा निर्यात बढाउन सकियो भने मात्र हाम्रो आर्थिक गतिविधि चलायमान हुन्छ । यसले एकातर्फ हाम्रो आयात प्रतिस्थापन गर्न सहयोग पुग्छ भने अर्कोतर्फ निर्यात बढाई विदेशी मुद्रा संचितिमा समेत सहयोग पुग्छ,” उनले भने ।
ढकालले कृषिको विकास तथा यस क्षेत्रको समस्या समाधान गर्न नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको रुपमा आफूले पहल गर्ने बताए ।
“यस क्षेत्रबाट मात्र औपचारिक तथा अनौपचारिक रुपमा लगभग ४ अर्ब रुपैयाँको निर्यात भएको भन्ने सुनेको छु । यसलाई अझ बढाउन आवश्यक छ । तपाईहरुले यस क्षेत्रका समस्याहरु लिखित रुपमै तयार गरेर आउनुभयो भने म नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको रुपमा महासंघको तर्फबाट नेपाल सरकार तथा सरोकारवाला निकायसँग छलफल गरी तपाईहरुका समस्या समाधान गर्न तयार रहनेछु । ” ढकालले भने ।
ढकालले नेपाल भूपरिवेष्ठित मुलुक भएको हुनाले नेपालले कुनै पनि वस्तु आयात तथा निर्यात गर्दा समस्या रहेको धारणा राखे । वरिष्ठ उपाध्यक्ष ढकालले नेपाल अहिले रेमिट्यान्समा आश्रित रहेको बताउदै कृषि, पर्यटन तथा जलविद्युत क्षेत्रको विकासमा जोड दिनुपर्ने बताए ।
प्रतिक्रिया