काठमाण्डु – नेपालमा अनुमति नै नपाएको कुवेतको राष्ट्रिय ध्वजाबाहक कुवेत एयरवेजले गैरकानुनी रुपमा उड्डयन कर्मचारी छनौट प्रक्रिया सुरु गरेको छ ।
उडान अनुमतिका लागि औपचारिक प्रक्रिया नै अघि नबढाएको कवेतले नियम विपरित नेपालमै आएर उड्डयन कर्मचारीको भर्नाका लागि छनौट सुरु गरेको हो । कुवेत एयरवेजले उडान अनुमतिका लागि काठमाण्डुको होटल सोल्टीमा सोमबार अन्तर्वार्ता गरिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
अन्तर्वार्तामा सफल हुने कर्मचारीबाट प्रतिव्यक्ति पाँच लाख रकम उठाई उनीहरुको जब कन्फर्मेशन गर्ने कार्य अगाडी बढाइएको पनि बताइएको छ । कुवेतबाट नेपालमा सिधा उडान हाल एउटा एयरलाइन्सले मात्र गरिरहेको छ । हाल भैरहवा र काठमाण्डुमा कुवेतको जजिरा एयरवेजले उडान गरिरहेको छ ।
अर्को एक एयरलाइन्स उडान गर्ने क्रममा छ । नेपालमा उडानका लागि वा नेपालमै अफिस राखेर नेपाली कर्मचारीको भर्ना गर्नका लागि पहिला अनुमति लिनुपर्छ । तर कुवेत एयरवेजले नेपालमा उडान गर्नका लागि कुनै पनि कानूनी प्रक्रिया अघि बढाएको छैन ।
कुवेत एयरवेजले नेपालमा स्लट पनि नपाएको र त्यसका लागि आवश्यक प्रक्रिया पनि अघि नबढेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।
प्रतिक्रिया