नागरिकको सूचना पाउने हकको सम्मान गर्न सरकारी निकायलाई प्रधानमन्त्री ओलीको निर्देशन

नागरिकको सूचना पाउने हकको सम्मान गर्न सरकारी निकायलाई प्रधानमन्त्री ओलीको निर्देशन


काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई कसैको व्यक्तिगत मामिला वा आम सरोकार नभएका विषयमा सूचनाको हक लागु नहुने बताएका छन्। राष्ट्रिय सूचना दिवशका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

ओलीले भने ‘नागरिकलाई कसैको व्यक्तिगत मामिला वा आम सरोकार नभएका विषयमा सूचनाको हक आकर्षित नहुने कुरा तर्फ समेत सजग गराउँछु।’

सरकारका सबै निकायलाई लोकतन्त्रको मर्म अनुसार नागरिकको सूचना पाउने हकको सम्मान गर्नपनि ओलीले आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीले सुचनाको हकको बिषयमा कानुनी प्रक्रियाको अनुसरण गरी आफ्नो संवैधानिक हकको उपयोग गर्न आग्रहपनि गरेका छन्।

राज्यका कामकारबाहीलाई नागरिकप्रति जवाफदेही बनाउन सार्वजनिक महत्वको सुचनामा आम नागरिकको पहुँच सरल र सहज हुनुपर्छ भन्ने सरकारको धारणा रहेको बताए।

सूचनाको हक प्रयोग गर्दा हरेक व्यक्तिलाई आफ्नो कर्तब्यको पनि ख्याल गर्न प्रधानमन्त्रीले स्मरण गराएका छन्। प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, ‘सूचनाको हक उपभोग गर्ने नाममा सामाजिक मर्यादा विपरित र वैयक्तिक वा असम्बन्धित बिषयमा सुचना माग्नु उचित हुँदैन।’

वर्तमान सरकार पारदर्शीता,भ्रष्टाचार नियन्त्रण,विधिको शासन र जवाफदेहीताको संस्कृतिमा आधारित भई सुशासनलाई अघि बढाएको ओलीको दावी छ।

ओलीले भनेका छन्, ‘सुशासनलाई मजवुद बनाउदै समृद्ध नेपाल,सुखी नेपालीको मूल ध्येयलाई साकार तुल्याउन सरकार अघि बढेको छ।’